लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, मंगलबार नयाँ नियुक्त मन्त्रीहरुको शपथग्रहण

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, मंगलबार नयाँ नियुक्त मन्त्रीहरुको शपथग्रहण

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले मौजुदा मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सिफारिस गरिएको छ । पुनर्गठित मन्त्रिपरिषदमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नयाँ नियुक्त भएका मन्त्रीहरुको पद तथा गोपनियताको शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा राखिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्का अन्य सदस्यमा तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।
वर्तमान सरकारमा नेकपा (एमाले) बाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो ।

प्रकाशित मिति : सोमबार, भाद्र ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij