लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

 

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । तीन मन्त्रीको नियुक्तिसँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ लिनेमा दीपेन्द्रकुमार पुन, इन्द्रजीत थारू र कृष्णा कुश्मा थारू छन् । पुनलाई स्वास्थ्य, थारूलाई आर्थिक मामिला तथा योजना र कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसीलगायतको उपस्थिति थियो ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

गत साउन १२ गते नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो । सोही सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij