काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने गरी आएको बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। प्रस्ताव पारित भएपछि बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले एक मिनेट मौनधारण गरेका थिए।
गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रस्तावमा उल्लेख छ।
बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीमा परी स्वदेशी तथा विदेशी नागरिकसमेत ठूलो संख्यामा बेपत्ता भएका छन् भने धेरैले ज्यान गुमाएका छन्।
प्रतिनिधिसभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विशेष प्रस्तावमार्फत बाढीका कारण घरबारविहीन भएका नागरिकको तत्काल उचित व्यवस्थापन, राहत तथा पुनःस्थापनाका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षणसमेत गराइएको छ।
यसै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते रसुवामा आएको बाढीबाट भएको क्षति, उद्धार तथा सरकारले अघि बढाइरहेको विपद् व्यवस्थापनसम्बन्धी कामबारे सदनलाई जानकारी गराएका थिए।
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्