एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर भेला आयोजना गरिएको एमालेले जनाएको छ । भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौं आइसकेको पार्टीले जानकारी दिएको छ ।

एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा छलफल हुनेछ । साथै, पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा कामका विषयमा पनि भेलामा छलफल हुने उनले बताए ।

भेलाका एजेन्डालाई सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।

भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन् ।

भेलाबाट पार्टीको आगामी राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका निर्णयको प्रभावकारी कार्यान्वयन र स्थानीय तहको निर्वाचनको तयारीबारे साझा धारणा निर्माण गर्दै आवश्यक रणनीति तय गर्ने एमालेको अपेक्षा छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij