काठमाडौँ । भारत, चीन र इजरायलका लागि नेपाल सरकारले प्रस्ताव गरेका तीन जना राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्रिमो (औपचारिक सहमति) प्राप्त भएको छ। एग्रिमो प्राप्त भएसँगै उनीहरूको राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित डा. कल्याणराज शर्मा र इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्णलाई सम्बन्धित मुलुकले राजदूतका रूपमा स्वीकार गर्दै एग्रिमो पठाएका हुन्।
स्रोतका अनुसार चीनले डा. शर्माका लागि गत नोभेम्बर ६ (२० कात्तिक)मा, इजरायलले कर्णका लागि नोभेम्बर ७ (२१ कात्तिक) मा र भारतले डा. पाण्डेका लागि नोभेम्बर १३ (२७ कात्तिक)मा एग्रिमो पठाएको हो। यससँगै तीनमध्ये सबैभन्दा पहिले चीनबाट डा. शर्माको नाममा एग्रिमो प्राप्त भएको छ।
नेपाल सरकारले प्रस्ताव गरेका १० जना राजदूतमध्ये हालसम्म तीन जनाको मात्र एग्रिमो प्राप्त भएको हो। बाँकी सात जनाको एग्रिमो आउन बाँकी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
सरकारले झण्डै एक वर्षदेखि रिक्त रहेका विभिन्न नेपाली दूतावासमा राजदूत नियुक्तिका लागि गत असोज २ गते नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले भारतका लागि प्रस्तावित डा. पाण्डे र चीनका लागि प्रस्तावित डा. शर्माको असोज २६ गते तथा इजरायलका लागि प्रस्तावित कर्णको असोज २७ गते सुनुवाइ गरी नाम अनुमोदन गरेको थियो।
सरकारले १३ मुलुकका लागि राजदूतको नाम प्रस्ताव गरे पनि संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्र अनुमोदन गरेको थियो। साउदी अरेबियाका लागि प्रस्तावित गिरिबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम समितिले अस्वीकृत गरेको थियो भने जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाले विवादपछि आफ्नो नाम फिर्ता लिएका थिए।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्