रूपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी तथा व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई सुम्पिएको छ ।
नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ मा रहेको वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवद्र्धन अफ नेपाल प्रालिसँग फोहोरमैला व्यवस्थापनसम्बन्धी सम्झौता गरेको हो । सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी सम्हाल्नेछ ।
सम्झौताको कुल रकम तीन करोड ६० लाख दुई हजार ९७१ रुपैयाँ सात पैसा रहेको छ । नगरपालिकाका अनुसार सम्झौता २०८३ मङ्सिर ७ गतेदेखि लागू भई २०८८ मङ्सिर ६ गतेसम्म कायम रहनेछ ।
संविधानसभा सदस्यसमेत रहनुभएका नगरप्रमुख इस्तायिक अहमद खानले वर्षौंदेखि जटिल बन्दै आएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यले निजी क्षेत्रसँग सहकार्य गरिएको बताउनुभयो । सिद्धार्थनगरलाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित सहर बनाउने लक्ष्यसहित अघि बढाइएको यो पहल नगरवासीको प्रत्यक्ष सरोकार र नगरपालिकाको प्रमुख प्राथमिकतासँग जोडिएको उहाँको भनाइ छ ।
नगर स्थापनाकालदेखि नै फोहोरमैला व्यवस्थापन सिद्धार्थनगरको प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ । बजार तथा बस्ती क्षेत्रमा नियमित फोहोर सङ्कलन र व्यवस्थापन हुन नसक्दा सडक किनारमा फोहोर थुप्रिने, दुर्गन्ध फैलिने तथा सहरी सौन्दर्यमा असर पर्ने समस्या देखिँदै आएको थियो । यसले नागरिकको स्वास्थ्य र वातावरणीय स्वच्छतामा असर पार्नुका साथै पर्यटकीय सहरका रूपमा भैरहवाको पहिचानमा समेत चुनौती थपेको थियो ।
विशेषगरी फोहोर विसर्जनस्थलको अभाव र स्थानीयस्तरमा हुने अवरोधका कारण नगरपालिकाले लामो समयदेखि व्यवस्थापनमा कठिनाइ भोग्दै आएको थियो । यसअघि वडा नं. १ को मेउडिहवास्थित डण्डा नदी किनारमा फोहोर विसर्जन गरिँदै आएको थियो । स्थानीयवासीको अवरोधपछि सोही वडाको सिद्धार्थ राजमार्गछेउ डण्डा नदी किनारमा फोहोर विसर्जन गर्न थालिएको थियो । तर, उक्त स्थानमा समेत फोहोर नफाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नगरपालिकाका लागि फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बनेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीपिन क्षेत्रीले सिद्धार्थनगरलाई स्वच्छ, हराभरा, सुन्दर तथा पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्यअनुरूप फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । निजी क्षेत्रसँगको सहकार्यले फोहोर सङ्कलन, वर्गीकरण र अन्तिम व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गरिएको पहलले सार्थकता पाएको बताउनुभयो । सम्झौताअनुसार काम प्रभावकारी रूपमा कार्यान्वयन भए नगर क्षेत्रको सरसफाइमा सुधार आउने र नगरवासीले लामो समयदेखि भोग्दै आएको समस्या न्यूनीकरण हुने उहाँको भनाइ छ
नगरपालिकाले सम्झौताको प्रभावकारी कार्यान्वयनसँगै नियमित अनुगमन र नागरिक सहभागितालाई पनि प्राथमिकता दिएको छ । निजी क्षेत्रसँगको सहकार्यबाट फोहोर व्यवस्थापन प्रणाली व्यवस्थित हुने र सिद्धार्थनगरलाई स्वच्छ, सुन्दर तथा पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्