गुल्मी, (जनता टुडे) जिल्लामा आउँने अधिकांश प्रमुख जिल्ला अधिकारीहरुले सेवालाई चुस्त बनाउनेतर्फ नयाँ–नयाँ उपायहरु अवलम्बन गरेको पाइन्छ । जसका कारण सेवाग्राहीहरुलाई सहज हुने गरेको छ । प्रायःजिल्लामा आउँने प्रमुख जिल्ला अधिकारीहरुले अवलम्बन गर्ने शैलीले सेवाग्राही र कर्मचारीहरुलाई पनि सेवा प्रवाह गर्न सजिलो भएको पाइन्छ ।
जिल्ला आउँने प्रजिअहरुकै पहलका कारण प्रशासनियक क्षेत्रमा नयाँ कार्यहरु भईरहेका छन् । यस अघि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको पहलमा जिल्लाको सदरमुकाम तम्घासका विभन्न चोक तथा मुख्य बजार क्षेत्रमा सिसि क्यामरा जडान तथा महत्त्वपूर्ण कार्यहरु भएको थियो । सिसि क्यामरा जडानका कारण सुरक्षाका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जसले गर्दा बजार क्षेत्र सिसिटिभिको नियन्त्रणमा रहेको छ ।
अहिले जिल्लामा कोशहरी निरौला प्रमुख जिल्ला अधिकारी रहेनुभएको छ । निरौला जिल्लामा सरुवा भई आएको करिब २ महिना मात्र भयो । उहा यस अघि स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएको थियो । उहाले सेवा प्रवाहलाई चुस्त बनाउन सहायता कक्ष स्थापनासंगै जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना, युरो गार्ड सहितको शुद्ध पिउने पानीको व्यवस्था लगायतका महत्वपूर्ण कार्यहरू गर्नुभएको छ । पछिल्लो समय जिल्ला प्रशासनमा भएको नयाँ कार्यलाई नागरिक तहबाटै प्रसंशा भएको छ ।
कार्यालयमा सेवाग्राहीको सहजताका लागि विभिन्न नयाँ–नयाँ कार्यहरु भैरहेका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाले सेवामा एकरुपता ल्याउनका लागि स्थानीयतहका जनप्रतिनिधि एवं कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने अभियानलाई समेत अगाडि बढाएका छन् । उहाले सेवा प्रवाह गर्ने सन्दर्भमा स्थानीयतहबाट गरिने कतिपय सिफारिसहरुमा एकरुपता ल्याउन आफुहरु जनप्रतिनिधिहरुसँग छलफल र अन्तरक्रियामा जुटेको बताउनुभयो ।
प्रजिअ निरौलाले नेपाली नागरिकता, व्यक्तिगत घटना दर्ता, ऐन र जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका विषयमा स्थानीयतहमा जानकारी गराएको बताउनुभयो । त्यस्तै उहाले कानुनी व्यवस्था सेवाप्रवाहमा रहेका अन्यौलता नीतिगत अस्पष्टता, समस्या समाधान, नागरिकहरुले सेवा प्रवाह गर्दा भोग्नु परेका समस्याहरुको विषयमा समेत स्थानीयतहलाई जानकारी गराउनुभएको छ।
‘स्थानीयतहबाट सिफारिस आउँछन् । कहिले फोटोमा छाँप हुँदैन, बिचमै केरमेर भएको हुन्छ ।’ प्रजिअ निरौलाले भन्नुभयो । यस्ता समस्याका कारण सेवाग्राहीहरुलाई समस्या हुने गरेको भन्दै यसमा एकरुपता ल्याउन अवश्यक रहेको उहाले बताउनुभयो । निरौलाले स्थानीयतह ऐन, नियमका विषयमा अभ्यास्त नभएका कारण त्यस्ता समस्या आउने गरेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय र स्थानीयतह बीच सम्बन्ध स्थापित गर्दै सेवाप्रवाहका सम्बन्धमा आउने समस्या समाधानका लागि पनि भेटघाट कार्यक्रम महत्वपूर्ण हुने निरौलाको भनाई रहेको छ । छिट्टै नागारिकहरुको गुनासो सुन्ने कार्यक्रम लिएर जिल्लाका सबै स्थानीयतहमा सार्वजनिक सुनुवाइको आयोजना गर्ने प्रजिअ निरौलाले जानकारी दिनुभयो । ‘प्रशासनबाट सञ्चालन हुने नागरीकता, राहदानीका काम हुन् । ‘पहिले राहदानीको पैसा कार्यालयमा बुझ्ने व्यवस्था थियो । तर अहिले बैंकमा बुझ्ने गरी व्यवस्था गरेका छौँ ।’ उहाले भन्नुभयो प्रशासनको हाताबाटै अब माघ पहिलो हप्ता नै बैँकिङ्ग काउण्टर खोल्ने तयारीमा रहेको निरौलाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, पुष २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्