अदालतले दियो थुन्ने आदेश, सिद्धबाबा भने फरार

अदालतले दियो थुन्ने आदेश, सिद्धबाबा भने फरार

काठमाडौ
अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई थुनामा पठाउने आदेश गरेको हो।
यसअघि जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउन भनेको थियो।
तर उच्च अदालतको आदेश आउनु केही घन्टाअघि नै गिरी भने भारत पसिसकेका थिए।
मुद्दाको सुनुवाइ बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारि गएका हुन्।
बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई ‘केही काम छ तपाईं यहीँ बस्दै गर्नुहोला’ भनेर नेपालपट्टि ओर्लाएर कृष्णदास भारत गएको मोरङ प्रहरीले जनाएको छ। केही दिनयता उनी उपचारका लागि भन्दै भारत जाने(आउने गरिरहेका थिए।
केही समर्थक र अनुयायीसाथ उनी आफ्नो आश्रमबाट बिहीबार बिहान उच्च अदालत जाने भन्दै हिँडेका थिए। अदालत नगई उनी सोझै जोगबनी पुगेको प्रहरी स्रोतले जनाएको छ।
आफूले खटाएका हवल्दारलाई फर्काएर भारत गएका गिरीलाई अहिले प्रहरीले फरार सूचीमा राखेको छ।
कहाँ जानुभयो भन्ने केही जानकारी छैन। हामी सबै संयन्त्र प्रयोग गरिरहेका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले सेतोपाटीसँग भने,‘उहाँलाई पक्रिन प्रहरी परिचालन गर्दैछौं।’
स्रोतका अनुसार मुद्दा आफ्नो पक्षमा भए नेपाल फर्किने नभए भारततिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने योजनाअनुसार उनी भारत गएका हुन्।
कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो। जिल्ला अदालत सुनसरीले उनलाई पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छोडेको थियो।

प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij