काठमाण्डौ
प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिएका हुन् ।
शून्य समयमा बोल्दै सांसद मिनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसार आक्रान्त भइरहेका बेला बारम्बार कुरा उठाउदा पनि सुनुवाइ नभएको बताउनुभयो । उहाँले चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताउनुभयो । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताउनुभयो ।
उहाँले त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गर्नुभयो । यस्तै सांसद भवानी प्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भूमिप्रसाद त्रिपाठीले नागढुंगा सुरुङ मार्ग निर्माणकार्यले प्रारम्भमा नै अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै धादिङ जिल्लातर्फको सुरुङ मार्गको मुखैमा देखिएको जग्गा मुआब्जामको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।
भैरवबहादुर सिंहले बझाङको खोड्पे बजार जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको समयमा स्थानीय बासीले जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको भन्दै सो राजमार्गको स्तरोन्नति गर्न सकारसँग माग गर्नुभयो ।
प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्