रेणु दाहाल नेतृत्वको कार र्‍याली लुम्बिनी भ्रमणमा, बुटवलमा स्वागत

रेणु दाहाल नेतृत्वको कार र्‍याली लुम्बिनी भ्रमणमा, बुटवलमा स्वागत

बुटवल
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले शुरू गरेको कार र्‍यालीमार्फत लुम्बिनी जान आएको आन्तरिक पर्यटकको विशेष टोलीलाईआज बुटवलमा स्वागत गरिएको छ ।
बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले पर्यटन प्रवद्र्धनका लागि हिँडेको टोलीलाई बुटवल राजमार्ग चौराहामा राष्ट्रिय स्वाभिमानको प्रतिक जितगढी किल्लाको आकृति अंकित मायाको चिनो दिँदै स्वागत गरिन् ।
उपप्रमुख आचार्यले चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र भरतपुर महानगर प्रमुख रेणु दाहाल लगायतलाई बुटवलमा स्वागत गर्दै बुटवल र भरतपुरको सहकार्यबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताइन् ।
भरतपुर महानगरका प्रमुख दाहालले ‘घुमौं भरतपुर’ भन्दै शुरू गरिएको भरतपुर–लुम्बिनी कार र्‍याली पनि एउटा माध्यम रहेको उल्लेख गर्दै सहकार्यका साथ पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने बताइन् ।
प्रमुख दाहालले बुद्धावलीको बुटवल, ऐतिहासिक जितगढीको बुटवल र नारायणी सभ्यताको भरतपुरमा रहेका पर्यटन विकासका सम्भावनालाई मिलेरै साकार पार्नुपर्ने बताइन् । भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले शनिवारदेखि नै कार र्‍यालीको आयोजना गरेको उनको भनाइ छ । र्‍याली भरतपुरबाट बुटवल–सैनामैना हुँदै लुम्बिनीसम्म पुग्नेछ ।
बुटवल राजमार्ग चौराहमा आयोजित स्वागत कार्यक्रममा बुटवल उपमहानगरका कार्यपालिका सदस्य टंकप्रसाद पराजुली, बिमला श्रेष्ठ, रञ्जित शेरचन, महाशाखा प्रमुख मित्रमणि खनाल, पर्यटन व्यवसायी, निजी क्षेत्र लगायतको सहभागिता थियो ।
बुटवलले जितगढी–ऐतिहासिक नुवाकोटगढी, रामापिथेकश, सहस्रधारा, लक्ष्मीपार्क, हिलपार्क, कपरकट्टी बैठौलिया सिमसार क्षेत्रलाई जोडेर पर्यटन सर्किट बनाइरहेको छ । यी क्षेत्रलाई जोड्दै बुटवलले पैदलमार्ग र चक्रपथ निर्माणको कामलाई पनि अगाडि बढाएको छ ।
नारायणी नदी किनारमा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र महानगर प्रमुख रेणु दाहालले संयुक्त रुपमा र्‍यालीको शुभारम्भ गरेका थिए ।
१५४ वटा कार सहभागी रहेको र्‍यालीमा सहभागीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि शनिवारै स्वागत गरेको छ । यसअघि गैंडाकोट नगरपालिकाले पनि र्‍यालीलाई स्वागत गरेको थियो ।
भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदीबीच मोडेल तथा चौकीडाँडा महानगरको प्रमुख ७ केन्द्र रहेका छन् ।
संघीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्य मध्ये सूचीकृत मेघौली पनि महानगरभित्रै पर्दछ ।
पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको बताउँदै पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको बताए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij