कोरोना भाइरसलाई सजिलैसँग परास्त गर्न सकिने छ : शुभकामना मुख्यमन्त्रीको सन्देश

कोरोना भाइरसलाई सजिलैसँग परास्त गर्न सकिने छ : शुभकामना मुख्यमन्त्रीको सन्देश

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले एकीकृत रुपमा अगाडि बढ्दा कोरोना भाइरसलाई सजिलैसँग परास्त गर्न सकिने बताउनुभएको छ ।नयाँ वर्ष २०७७ को शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोटले कोरोना विरुद्धको संघर्षमा एकीकृत रुपमा अघि बढाउन हामी सफल हुने विश्वास लिएको छु ।’विश्वमामहामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन तीन सातादेखि मुलुक लकडाउनमा जारी रहेकाले लकडाउनभित्रै नयाँ उत्साह र उमङ्गका साथ घरमै बसेर नयाँ वर्ष मनाउन आग्रह गर्नुभएको छ ।सरकारले मुलुकलाई लकडाउनमा राख्ने निर्णय बेलैमा गरेकाले समुदायमा संक्रमण बढेको छैन । संक्रमित १२ जनामध्ये एक जनाबाहेक सबै बाहिरबाट आएका व्यक्तिमा संक्रमण देखिएको छ’, मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा भनिएको छ, ‘कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ । यो महामारी विरुद्धको संघर्षमा देखिएको राजनैतिक समझदारीले काममा जुटिरहेकाको मनोबल बढाएको छ ।’कोभिड १९ विरुद्धको संघर्षमा चिकित्सकसहितका स्वास्थ्यकर्मी नै अग्रमोर्चाका योद्धा रहेको भन्दै मुख्यमन्त्रीले उनीहरुको मिहिनेत र उच्च मनोबललाई आफूले उच्च सम्मान व्यक्त गरेको बताउनुभएको छ । ‘अहिलेसम्म हामी सुरक्षित छौं । तर, जोखिमबाट मुक्त छैनौं । कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छौं’, मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ, ‘कोरोनाविरुद्ध प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा काम गर्न मेरो अध्यक्षतामा गठन भएको सङ्कट व्यवस्थापन केन्द्र सक्रिय छ ।’कोरोनाविरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको भन्दै मुख्यमन्त्री पोखरेलले रुपन्देहीको बुटवल र भैरहवा, दाङको बेलझुण्डी र बाँकेको खजुरामा आइसियुसहितको कोरोनाविशेष अस्पताल तयार गरेको बताउनुभएको छ । भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी कोरोनाभाइरसको परिक्षण गर्न थालिएको भन्दै पोखरेलले छिट्टै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने बताउनुभएको छ ।उच्च सतर्कता र सावधानीका कारण अहिलेसम्म प्रदेश ५ मा कोरोना संक्रमित बिरामी नभेटिएको भन्दै मुख्यमन्त्री पोखरेलले भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन चुस्त बनाइएको र प्रदेश ५ सँग सीमा जोडिएका प्रदेशसँगको सीमा नाकामा पनि कडाई गरिएको बताउनुभएको छ ।

लकडाउन लामो हुदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको प्रदेश सरकारले बुझेको भन्दै मुख्यमन्त्री पोखरेलले यो कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था नआउने बताउनुभयो । ‘स्थानीय तहले पहिलो चरणमा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको आवश्यक प्रबन्ध गर्ने व्यवस्था मिलाइएको छ । यो समय खेती स्याहार्ने र लगाउने समय हो । खेती स्याहार्ने र लगाउने काम सामाजिक दुरी कायम गरी गर्न सकिन्छ ।

लकडाउन लम्बिदै जाँदा पर्ने समस्याको समाधानका लागि आवश्यक प्रबन्ध गरिने छ’, मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘भारतलगायत तेस्रो मुलुकबाट आएका सबैजना क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ । जो क्वारेन्टाइनमा बस्नुभएको छ, तपाईहरुको र्यापिड टेस्ट शुरु भएको छ ।’

प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचार कोष स्थापना गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यो कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको जानकारी दिनुभयो । ‘विभिन्न व्यक्ति र संस्थाले कोषमा योगदान गरिरहनु भएको छ । प्रदेश सरकारले कोषमा १० करोड जम्मा गरेको छ । म यो संकटको बेला कोषमा योगदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै कोषमा योगदानगर्न विभिन्न संघ संस्था, व्यवसायी, पेशाकर्मी र आमजनसमुदायमाहार्दिक अपील गर्दछु’, मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ ।

संक्रमण फैलन नदिन व्यक्तिबीचको सामाजिक दुरी सबैभन्दा ठूलो औजार भएको भन्दै मुख्यमन्त्री पोखरेलले लकडाउन सोही प्रयोजनका लागि भएको बताउनुभयो । यस महामारी विरुद्धको संघर्षमा नागरिकको सहयोग निकै महत्वपूर्ण रहने भन्दै पोखरेलले राज्यले लिएका निर्णय नागरिकको जीवन रक्षाका लागि हुन् भन्ने बुझाई स्थापित भएको बताउनुभयो । ‘नयाँवर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij