अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्‍ने

अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्‍ने

काठमाडौं : कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहल गर्ने भएको छ। कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका केही नेपाली विचल्लीमा परेको र यही अवस्था जारी रहे थुप्रै नेपाली अप्ठ्यारोमा पर्ने भन्दै संघले स्वदेश फर्काउने रणनीति तय गर्न लागेको हो।  संघले गठन गरेको ‘कोभिड–१९ उच्चस्तरीय समिति’को बैठकमा सहभागीले विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिक रूपमा बस्दै आएका नेपालीका अवस्थाबारे गम्भीर चिन्ता प्रकट गरेका छन्। साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत मुलुकमा विद्यार्थी र खाडी क्षेत्रका श्रमिक कोरोना भाइरसबाट बढी प्रभावित भएका छन्। तत्काल करिब ५० हजार नेपालीले स्वदेश फर्कने चाहना राखेको संघको अनुमान छ।  यद्यपि, सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म गैरआवासीय नेपालीलाई यथास्थानमा सुरक्षित रहन अनुरोध यसअघि गरिसकेका छन्। हाल विश्वका धैरैजसो मुलुक हाल ‘लकडाउन’को अवस्थामा छन् । वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको करार अवधि सकिएको छ र उनीहरु घर फिर्ता हुनका लागि पर्खेर बसेका छन्। संघले अप्ठ्यारोमा परेका र नेपाल फर्कन अतिआवश्यक भएका नेपालीलाई तत्काल नेपाल फर्कने वातावरण बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवको पनि ध्यानाकर्षण गराइसकेको छ। यसका अतिरिक्त नेपाली श्रमिक काम गर्ने कतिपय कम्पनी बन्द हुँदा रोजगारी गुमेको छ र तुरुन्तै अर्को काम पाउने अवस्था पनि छैन । विदेशमा रहेका कतिपय नेपाली कामदारलाई खाने बस्ने समस्या देखिन थालिसकेको छ। सङ्घका सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले संकटमा परेका आफ्ना देशका नागरिकलाई मद्दत गर्ने उद्देश्यले केही चन्दा सङ्कलन गरी खाद्यान्न एवं अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आएका छन्।   ‘भिडियो कन्फ्ररेन्स’ मार्फत भएको सो बैठकमा एनआरएनएका अध्यक्ष कुमार पन्तले कोभिड–१९ का कारण गन्तव्य मुलुकमा रोजीरोटी गुमाएर स्वदेश फर्कन चाहनेको सङ्ख्या हजारौँ रहेको बताए । उनले भने ‘ कुवेतमा तीन हजारभन्दा बढी कागजी प्रक्रिया पूरा नगरेका नेपाली छन्। कैयौँ नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि नेपाली विभिन्न देशमा अलपत्र परेकालाई नेपाल फर्काउनेबारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल भइरहेको र परराष्ट्रमन्त्री यस विषयमा सकारात्मक हुनुहुन्छ।’ बैठकमा पूर्वशिक्षामन्त्री गङ्गाधर तुलाधारले अहिलेका अवस्थामा गैरआवासीय नेपाली समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दा नेपाल र नेपालीका लागि अतुलनीय योगदान हुने बताए। कोभिड–१९ का कारण मुलुक भोलि सङ्कटमा जान सक्ने औँल्याउँदै उनले भने ‘ यस्ता महामारी भविष्यका लागि पाठ सक्ने अवसर हो, यसले स्वास्थ्य क्षेत्रमा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ, स्वास्थ्य क्षेत्रमा अहिले प्रयोग भइरहेका नयाँ अनुभवले आगामी पुस्ताको लागि उपयोगी हुनेछ।’  सङ्घका उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र नेपालीको सहयोगका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम परिचालन गर्ने विषयमा सरकारसँग छलफल भइरहेको जानकारी दिए। कोषमा र रु पाँच अर्बभन्दा बढी रकम जम्मा भइरहेको छ । सोही कोषको प्रयोग गरेर अलपत्र नेपालीलाई उद्धार गरेर ल्याउनुपर्ने आवाज उठ्दै गएको छ।

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij