तिलोत्तमामा निर्माण हुने दुग्ध प्रशोधन परियोजनाको काम अघि बढ्यो ,लुम्बिनी विशिष्टकृत सहकारी संघ प्रदेशमा दर्ता

तिलोत्तमामा निर्माण हुने दुग्ध प्रशोधन परियोजनाको काम अघि बढ्यो ,लुम्बिनी विशिष्टकृत सहकारी संघ प्रदेशमा दर्ता

 

तिलोत्तमा- तिलोत्तमा लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धता अनुसार वडा नं. ६ मा दुग्ध प्रशोधन परियोजना निर्माण हुने बाटो खुलेको छ । प्रदेश ५ सरकारले लुम्बिनी विशिष्टकृत सहकारी संघ लिमिटेड दर्ता गरेसँगै परियोजनाको काम अघि बढेको हो ।

२०७६ भदौं ३० गते सहकारीकर्मीहरुको भेलाले उत्पादनशील क्षेत्रमा लगानी गर्नेगरी लुम्बिनी विशिष्टिकृत सरकारी संघ गठन गर्न तदर्थ समिति गठन गरेको थियो । तिलोत्तमा लगानी सम्मेलनमा शो–केस गरिएको यु.एच.टी. दुग्ध प्रशोधन परियोजनालाई सहकारी संस्थाहरूको लगानीमा सञ्चालन गर्नेगरी नगरपालिकासँग सम्झौता गरेको संघले परियोजनालाई प्रदेश स्तरको बनाउन २०७६ कार्तिक १९ गते सहकारीहरुको प्रदेशस्तरीय भेला राखेको थियो । भेलामा प्रदेशका २ सय भन्दा बढी सहकारीका चार सय बढी सहकारीकर्मीहरू सहभागिता थिए ।

लगानी सम्मेलनमा गरिएको सम्झौताअनुसार तिलोत्तमा नगरपालिकाले वडा नं. ६ मा परियोजना कार्यान्वयनको लागि दुई बिगाहा १० कट्ठा जमिन लिजमा दिने निर्णय गरेकोमा प्रदेश सरकारमा सहकारी दर्ता भएसँगै परियोजनाको काम अघि बढेको संघका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिनुभयो । सहकारी संघ यहीँ असार ५ गते भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालयको सहकारी महाशाखामा दर्ता भएको हो ।

यो प्रदेश नम्बर ५ को पहिलो र नेपालको दोस्रो विशिष्टिकृत सहकारी संघको रूपमा विधिवत दर्ता भएको बताइएको छ । प्रदेश नम्बर ५ का १० वटा जिल्ला कार्यक्षेत्र रहनेगरी विभिन्न प्रकृतिका ५१ वटा प्रारम्भिक सहकारी संस्थाहरुको संलग्नता एवं प्रारम्भिक लगानीमा लुम्बिनी विशिष्टिकृत सहकारी संघ स्थापना भएको हो । संघको कामलाई व्यवस्थित गर्न तिलोत्तमाको शंकरपुरमा कार्यालय स्थापना गरिएको छ ।

अब यथाशीघ्र संघको एच.आर. नीतिअनुरुप आवश्यक कर्मचारी नियुक्त गरी कार्यालय सुचारु गर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो । संघले लिजमा उपलब्ध गराईएको जमिनलाई व्यवस्थित गर्ने, परियोजनाको डिपिआर सहित अन्य आवश्यक अध्ययन प्रतिवेदनहरूलाई अन्तिम स्वरुप प्रदान गर्ने संघको तयारी छ ।

अध्यक्ष शर्माले दुई वर्ष भित्रमा उत्पादनलाई बजारसम्म लैजाने गरी काम अघि बढाइने बताउनुभयो । परियोजनाको लागि प्रदेश नं ५ सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ भने तिलोत्तमा नगरपालिकाले पनि बजेटमा सम्बोधन गर्ने जनाइएको छ ।

किसानमा दुध बिक्रीको सुनिश्चितता गर्नुका साथै अधिक आर्थिक लाभ प्रदान गर्ने र बजारमा गुणस्तरीय दुध तथा दुग्ध पदार्थहरु आपूर्तिको सुनिश्चितता गर्नेगरी ६० करोडको लगानीमा परियोजनालाई सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सहकारीकर्मीले परिकल्पना गरेको उच्चस्तरको प्रशोधन प्रविधि (युएचटी) को प्रयोग गरी दूधलाई प्रशोधन गरेर गुणस्तरीय दूध आपूर्ति गर्ने तथा दूधका अन्य विभिन्न परिकारहरु समेत तयार गरी बजारमा लैजाने योजनालाई सार्थकता दिनका निम्ति संस्था दर्ताले मार्गप्रशस्त गरेको अध्यक्ष शर्माको भनाइ छ ।

अब सहकारी संघले प्रदेश अन्तर्गत्का जिल्लामा रहेका दुग्ध उत्पादन सहकारीका अलवा अन्य विभिन्न प्रकृतिका सहकारी संस्थाहरुलाई आवद्ध गरी आवश्यक पुँजी जुटाउने तथा आमसहकारीहरूलाई पुनः थप अपनत्व दिलाउने कामको थालनी गर्ने जनाइएको छ ।

प्रकाशित मिति : आइतबार, असार ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij