काठमाडौँ -मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।
विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छ भने तराई डुबान, कटान र बाढीको जोखिममा छ । भइपरि आउने घटनाको क्षति न्यूनीकरण, राहत र उद्धारका लागि सबै निकायको ध्यान केन्द्रीत भएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गरी विपद्को प्रतिकार्य योजना बनाएर लागू गरिएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै जाँदा सम्भावित घटनाबाट क्षति कम गर्न मातहतका निकाय, तीनै तहका सरकार तथा सम्बद्ध अन्य सङ्घसंस्था उच्च तयारीमा जुटेको छ । सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ लागू गरी पूर्ण तयारी गरिएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उक्त योजनाभित्र पूर्व सूचनादेखि आपत्कालीन आश्रयस्थल व्यवस्थापनसम्मका कार्ययोजना समावेश छ ।
हालै लागू भएको प्रतिकार्य योजना २०७६ अनुसार खोज, उद्धार र तत्काल राहतका कामहरु गृहमन्त्रालयबाट हुन्छ । अन्य काममा गृहमन्त्रालय स्थानीय तहको सहयोगीको भूमिकामा रहन्छ । जोखिम न्यूनीकरणमा समन्वय, पुनःलाभमा नेतृत्व र राहत निर्माणमा सहयोगी भूमिका गृहमन्त्रालयको रहेको छ । नेपालको संविधान २०७२ ले विपद्मा स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाएको छ । संविधानको अनुसूची ८ मा विपद् व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।
सुरक्षाकर्मी पूर्ण तयारीमा
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी विपद् जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि आवश्यक तयारीमा बसेको छ ।
विपद्को छोटो समयमा प्रभावकारी रुपमा परिचालन हुने गरी विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत नेपाली सेनाले १ नं विपद् व्यवस्थापन गणलाई काठमाडौँ र पूर्वतर्फको प्रदेश हेर्ने तथा २ नं गणलाई चितवन तथा पश्चिमतर्फको प्रदेश हेर्ने गरी तालीमप्राप्त उद्धारकर्ता तयारी अवस्थामा राखिएको छ ।
जसका लागि सेनाले आकस्मिक उद्धार टोली ५६१ जनशक्ति तयारी गरेको छ । अन्य एक हजार ७८२ जनशक्ति तयारी अवस्थामा छन् भने हरेक क्षेत्रबाट आवश्यकताअनुसार टोली खटिन सक्ने नेपाली सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले जानकारी दिए । गण भएको जिल्लामा १०४ र गुल्ममा ३० जना तैनाथ हुन्छन् । नपुग भए माथिल्लो तहबाट थप हुन्छ ।
मनसुनको समयमा बाढी पहिरोबाट हुने राजमार्गको क्षति उद्धार, राहत तथा सडक सञ्चालनका लागि एक्रोज ब्रिज र डुंगासहित आवश्यक जनशक्ति तयार पारेको छ ।
सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारका लागि दुई हजारभन्दा बढी दक्ष जनशक्ति तयार पारेको प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरीका आठ बाहिनीमा ५० जनाको दरले विपद् उद्धार समूह तयारी अवस्थामा छ । हरेक गणमा ३५ र गुल्म १० जना छन् भने आवश्यक जनशक्तिसहित १९ जना गोताखोरलाई कुरिनटार, काठमाडौं, पोखरा र सुनसरीमा खटाइएको श्रेष्ठले जानकारी दिए । आवश्यक उद्धार उपकरणको समेत व्यवस्था गरिएको छ ।
प्रहरीले केन्द्रमा खोज उद्धारका लागि ३० ‘क्विक रेस्पोन्स टिम’ तयार गरेएको छ । डुंगा चलाउन सक्ने १६, पौडिन सक्ने २८ तथा आवश्यक मात्रामा जनशक्ति थप्नसक्ने गरी तयारी गरेको छ । महानगरीय प्रहरी कार्यालय र सातै प्रदेशमा गरी कूल ५०० दक्ष प्रहरी जनशक्ति तयार गरिएको छ ।
प्रकाशित मिति : शनिबार, असार २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्