JanataToday.com

Advertisment

SKIP THIS

तीन महिनामै चर्कीयो लाखौंको सिंचाइ संरचना

तीन महिनामै चर्कीयो लाखौंको सिंचाइ संरचना

बैरीया डिप ट्युवेल आयोजनाका भत्केका संरचना

बुटवल –रुपन्देहीमा निर्माणाधिन एउटा सिंचाइ आयोजनाको संरचना तीन महिना नहुँदै भत्किन थालेको छ । जिल्लाको रोहीणी गाँउपालिका २ को बैरिहवामा निर्माणाधिन डिप ट्युवेल सिचाइ आयोजना संचालनमा नआउदै त्यसका संरचना भत्कीएका हुन । गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरीएका कारण संचरनाहरु भत्किएको स्थानीयको दावी छ ।
बैरीयाको ६० बिगाह क्षेत्रफलमा सिचाइ पुरयाउने भनिएको अयोजना प्रदेश सरकारको ८० लाखको लागतमा बनाउन लागिएको हो । भूमिगत जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख महेश पोख्रेलका अनुसार दुइ वटा प्याकेज अन्तरगत बोरीङ्ग गाडने,पम्पघर,ओभरहेड ट्याङ्की तथा वासआउट निर्माणकालागि पुषमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख पोख्रेलका अनुसार पहिलो प्याकेजको १८ लाख र दोश्रो प्याकेजकालागि ८ लाखमा सम्झौता भएको हो । बशन्त कन्स्ट्रक्सन प्रालिले त्यसको ठेक्का पाएको छ । तेश्रो प्याकेज अन्तर्गतको वितरण प्रणालीको काम आगामी आर्थिक बर्ष गरीने बताइएको छ ।
पहिलो र दोश्रो प्याकेजमा ठेक्का सम्झौता अनुरुप बोरिङ गाडीएको छ । ओभरहेड ट्याङ्की, पम्प घर तथा वासआउट लगायतका संरचना बनेका छन । तर निर्माण सम्पन्न भएका भनिएका ती संरचना दुइ साता नहुँदै चर्केका छन । ओभरफ्लो पानीको व्यवस्थापनकालागि बनाइएको वासआउट तथा पम्पघरको फाउण्डेशन दवेको छ । भित्ता चर्केको छ । वरपरको पेटी धँसीएको छ । फुटेको छ ।
बैरीहवाका स्थानीय बुनीयाद अलिले कमसल निर्माण सामाग्री प्रयोग गरीएकै कारण ती संरचना कमजोर भएको बताए । पम्पघर, वाल,पेटी मा सिमेन्टको मात्रा निकै कम मिसाइएको दावी उनले गरे। ‘थोरै र कमसल सामान सस्तो किनीएको छ तर बिल धेरैको बनाएर भ्रष्टाचार गरीएको छ’ अलिले भने । अर्का स्थानीय करन खाँनलेपनि गुणस्तरहिन काम भएको बताए । दलका नेता,ठेक्केदार, जनप्रतिनिधि तथा नियामक निकायका अधिकारीहरुकै मिलेमतोमा कमसल सामाग्री प्रयोग गरी संरचना निर्माण गरीएको दावी खाँनको छ ।
कमिसन खान पल्केका उपभोक्ता समितिका पदाधिकारी तथा सरकारी अधिकारीहरुले बर्षाको बहाना बनाएर ठेक्केदारको लापरबाही र गुणस्तरहिन कामलाइ ढाकछोप गरीरहेको आरोप बैरीहवाका स्थानीयले लगाएका छन । रोहीणी गाँउपालिकाका अध्यक्ष सनोज कुमार यादवले पनि सिचाइका संरचना तीन महिनामै चर्कीनु,भत्कीनुले भ्रष्टाचारको आशंका जन्माएको बताए । ‘जुन ठाँउमा डिप ट्युवेल छ त्यहाँ न बर्षाको भेल पस्छ न बाढी । अनि कसरी बर्षाले भत्कायो भन्न मिल्छ’अध्यक्ष यादवले भने । कमसल काम गर्ने ठेक्केदारलाइ कारबाही नगरीए यस्ता घटना अन्यत्र पनि दोहोरीने उनले बताए ।
त्यसो त ठेक्केदारले संचरना मात्रै कमजोर बनाएको छैन । डिप ट्युवेलकालागि साढे ४ सय देखि ६ सय फुट पाइप जमिनमुनी धसाउने भनिएपनि ३ सय ६० फुट पाइप धँसाइएको छ । ‘३सय ६० फुट पाइप धसाएको हामीले नै देखेका हौं तर कागजमा ४ सय ६० फुट धसाइएको लेखिएको छ’स्थानीय मकसुद खाँनले भने ।
मापदण्ड बिपरित काम भइरहेको गुनासो स्थानीयले गरीरहदा नियामक निकायका अधिकारीहरु भने बर्षालाइ दोष दिएर ठेक्केदारलाइ जोगाउने प्रयत्नमा लागेका छन । भुमीगत जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय रुपन्देहीका इन्जिनीयर तारा कँडेलले बर्षाको समय भएकाले प्यारापेट वाल र वासआउटमा क्षती पुगेको बताइन । ‘दिनभर काम भयो । साँझ पानी आइदियो अनि वासआउट र प्यारापेट वाल दवीयो, चर्कीयो’ इन्जिनीयर कँडेलले भनीन । ठेक्का सम्झौता अनुरुपको निर्माण सकिएपनि आयोजना हस्तान्तरण भइनसकेकाले निर्माण कम्पनीलाइ मर्मतकालागि निर्देशन दिने उनले बताइन ।
इ.कँडेलले असार लागेपछि ती संरचना बनाइएको र पानीले भत्काएको भनेपनि आयोजना नजिकै घर भएका स्थानीयले भने गत फागुनमै ती संचरना बनाइएको दावी गरेका छन । कम लागतमा कमसल सामाग्री प्रयोग गरी बनाइएका संचरना भत्कन थालेपछि बर्षालाइ दोष दिएर भ्रष्टाचार ढाकछोप गर्न इन्जीनियर र उपभोक्ता समितिका अध्यक्ष कान्छा कहार लागी परेको स्थानीय मकसुद खाँनले बताए ।
शुक्रबार तीनै भत्केका र चर्केका संरचना टालटुल गर्दै गरेका मिस्त्री रघुनाथ गुप्ताले पनि प्रयाप्त र गुणस्तरीय निर्माण सामाग्री भए यस्तो समस्या नआउने बताए । ‘सिमेन्ट,छड,बालुवा गिट्टी राम्रो र प्रयाप्त काम पनि टिकाउ हुन्छ नभए भत्कीन्छ’ गुप्ताले भने । मिस्त्री गुप्ताका अनुसार उपभोक्ता समितिका अध्यक्ष कान्छाले भत्केको ठाँउमा टालटुल गरी चिटिक्क बनाउन निर्देशन दिएको बताए । ‘बचेको गिट्टी बालुवा र इटा कान्छाले लिएर जानु भयो । मलाइ आधा बोरा सिमेन्ट दिएर भत्केको टालेर नयाँ बनाइदेउ भन्नु भएको छ’ गुप्ताले भने । रोहीणी गाँउपालिकाका अध्यक्ष यादवले प्रदेस सरकारका अयोजनाहरुमा स्थानीय तहसंग कुनै समन्वयन नगरीदा र अनुगमन निरीक्षण प्रभावकारी नहुँदा ठेक्केदारको लापरबाही बढेको बताए ।
रुपन्देहीमा बिगतमा जस्तै यसपालीपनि सिचाइ,खानेपानी,खेलमैदान,बाटो,साना पुल, कल्भर्ड जस्ता आम जनतासंग प्रत्यक्ष जोडीएका आयोजनाहरुमा असारे मेलो चलीरहेको छ । असारे विकासबाट दलका नेता,जनप्रतिनिधि तथा कर्मचारीहरुले ठुलो रकम चलखेल गर्न पाउने भएकाले ठेक्केदारको लापरबाहीलाइ सम्बन्धित निकायले नै ढाकछोप गरीदिने जानकारहरु बताउछन । स्थानीय स्तरमा गठन गरीएका उपभोक्ता समितिहरु समेत उपभोक्ताकालागि नभइ भ्रष्टाचारीकालागि मध्यस्थकर्ताको रुपमा प्रयोग भइरहेका छन ।
साभार : यो समाचार आजको नागरिक दैनिक पत्रिका र नागरिक अनलाइनमा प्रकाशित छ ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij