भैरहवा : “संस्कार र संस्कृति नै राष्ट्रका प्राण हुन” भन्ने नाराका साथ हिन्दु स्वयंसेवक संघ नेपाल भैरहवाको आयोजनामा भैरहवामा परिवार मिलन कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु संस्कृतिको संरक्षणका साथै बालबालिकाहरुलाई संस्कारको बारेमा जानकारी दिने र परिवारहरुको सामुहिक भेटघाट एवं मिलन गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राजु शर्मा ढकालले बताए ।
परिवारमा विचलन आए पुनः त्यसलाई जोड्न कठिन हुने भएकोले परिवारलाई कसरी अनुशासित र मर्यादित बनाउन सकिन्छ भन्ने कार्यक्रमको मुख्य उद्धेश्य रहेको उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर ३(१) बाट निर्वाचित प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले शिक्षा प्रणालीमा नैतिक शिक्षालाई पनि समावेश गर्नुपर्नेमा जोड दिए ।
उनले हिन्दु धर्मसंस्कृतिको संरक्षणको लागि हिन्दु स्वयंसेवक संघले विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्नु प्रशंसनीय रहेको बताए । प्रदेशसभा सदस्य पाण्डेयले प्रदेश नम्बर ५ का समृद्ध बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा नयाँ पुस्ता निर्माणमा अभिभावकको भुमिका विषयमा आयुर्वेदाचार्य एवं प्रमुख वक्ता डा. निरज सिंघलले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा समाजसेवी नारायण प्रसाद अग्रवाल, हिन्दु स्वयंसेवक संघ नेपालका सह–राष्ट्रिय प्रचारक रेवित कुमार, नेपाली सेनाका दिल बहादुर खड्का, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका प्रमुख शान्ति सुवेदी, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, हिन्दु स्वयंसेवक संघ नेपालका सम्भाग संघचालक राजकुमार गुरुङ, उमाशंकर पाठक, रविकान्त उपाध्याय, जोगेन्द्र अग्रहरी लगायतको आतिथ्यता रहेको थियो ।
हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक हेम शर्मा आचार्यको अध्यक्षता, कार्यक्रम सह–संयोजक दिपेन्द्र प्रधानको स्वागत मन्तव्य तथा गोकुल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्