काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गरेका छन् ।
अध्यक्षद्वयले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गरेको छलफलमा स्थायी कमिटीको बैठक यही २६ भदौमा बस्ने बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
छलफलमा महासचिव विष्णु पौडेलको पनि सहभागिता थियो । उक्त सहमतिको प्रस्ताव स्थायी कमिटीका सदस्यलाई पठाउने प्रक्रिया पनि सुरु भएको छ ।
गत १३ साउनदेखि स्थगित स्थायी कमिटीको बैठक अध्यक्षद्वयले २६ गते बिहान ११ बजेका लागि तोकेका छन् ।
पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही १८ भदौको सचिवालय बैठकमा छलफल भएको थियो ।
गत ३० साउनमा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् ।
नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको थियो । रासस
प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्