पेरिस- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ । लिग वानअन्तर्गत आइतबार राति भएको मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाएका नेयमारलाई दुई खेलमा प्रतिबन्ध लागेको हो ।
पीएसजीको मैदानमा भएको सो खेलमा घरेलु टोलीका नेयमारसहित तीन जना र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए । खेलको अन्तिम समयमा दुई पक्षका खेलाडीबीच झडप भएको थियो । जसमा पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्जावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई मैदानबाहिर पठाइएको थियो ।
खेलको अन्त्यमा नेयमारलाई रेफ्रीले भीएआरको सहायतामा रातो कार्ड दिएका थिए । ब्राजिलियन स्टारले मार्सेलीका अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए ।
नेयमारसहित अरु ४ खेलाडीलाई समेत प्रतिबन्ध लागेको छ । पीएसजीका कुर्जावालाई ६ खेलमा प्रतिबन्ध लागेको छ भने परेडेसलाई दुई खेलमा प्रतिबन्ध लागेको छ ।
यसैगरी मार्सेलीका जोर्डन अमावीमाथि तीन र डेरियो बेनेडेटोलाई समान एक–एक खेलको प्रतिबन्ध लागेको छ ।
नेयमारले आफूमाथि जातीय विभेद भएको आरोपसमेत लगाएका थिए । सो खेलमा नेयमारले आफूमाथि जातीय टिप्पणी गरिएका कारण हात उठाएको जनाएका थिए । सामाजिक सञ्जालमा नेयमारले लेखेका छन्, ‘उनले मलाई बाँदरको छोरा भनेपछि मैले झापड हानेको हुँ । मलाई यो कुराको पछुतो छ कि मैले किन उनको अनुहारमा हिर्काइनँ ।’
यता, गोन्जालेजले भने जातीय टिप्पणी नभएको बताएका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘यहाँ जातीयताको कुनै ठाउँ नै छैन । यहाँ हाम्रो स्ष्ट जित छ । कहिलेकाहिँ तपाईंले मैदानमा हार्न सिक्नुपर्छ ।’
मार्सेलीले पनि सो खेलमा कुनै जातीय विभेद नभएको उल्लेख गर्दै गोन्जालेज त्यस्ता खेलाडी नभएको बताएको छ । यस्तै पीएसजीले पनि आफ्ना स्टार नेयमारलाई दरिलो साथ दिएको छ ।
जातीय विभेदको समाज र फुटबलमा कुनै स्थान नरहने बताउँदै पीएसजीले भनेको छ, ‘एलएफपीको अनुशासन आयोग तथ्यको जाँच र पत्ता लगाउनका लागि तयार छ । क्लब कुनैपनि सहयोगका लागि तयारी अवस्थामा छ ।’
फ्रान्सेली फुटबलले नेयमारले आरोप लगाएको सो आरोपमाथि थप अनुसन्धान हुने जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्