जनकपुर- कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट शुक्रबार दिउँसो नेपाल आइपुगेको छ ।
भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट आज जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् ।

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दसैं–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।
भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।
कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो ।
कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ ।
बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ ।

लामो समयको अन्तरालपछि रेल आउन लागेको खबर प्रसार भएपछि जनकपुर रेल्वे स्टेसनमा मानिसहरूको भीड लागेको छ ।
कोरोना कहरको बेवास्ता गर्दै उर्लेको भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्