तिलोत्तमा– तिलोत्तमा नगरपालिकामा थप दुई वटा सरकारी स्वास्थ्यसंस्था थपिएका छन् । योसँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ । मंगलबारबाट वडा नं. १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् । वडा नं. १ को शिव चोक र वडा नं. ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । नगरपालिकाले केही दिनभित्रैं वडा नं. ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिने जनाएको छ ।हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम तीव्रताको साथ अघि बढेको हो । स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न
भवनहरु पनि निर्माण भैरहेका छन् । हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत
स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् । स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरबासीलाई आग्रह गर्नुभयो । आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् । केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । फरक–फरक रुपमा भएका कार्यक्रममा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी,वडा नं. १ का वडाध्यक्ष तामानाथ पाण्डे, वडा नं. ३ का अध्यक्ष टंकप्रसाद तिवारी, स्वास्थ्य शाखा प्रमुख मोती पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, केशव भट्टराई लगायतले आधारभूत स्वास्थ्य सेवाको बारेमा बोल्नुभएको थियो ।
प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्