बुटवल ।
सहायक राजमार्गका रुपमा रहनेगरी तिनाउ दानव कोरिडोरको निर्माण थालिएको छ । बुधबार यसकाे अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरे । यो सडक बुटवलदेखि भारतीय सीमा मर्चवारसम्म रहनेछ ।
बुटवलबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले आफ्नो चुनावी घोषणापत्रमा समेत यो परियोजनालाई महत्वका साथ समावेश गरेका थिए। सोही अनुसार यो आयोजनालाई रुपन्देहीको ‘ड्रिम प्रोजेक्ट’को रुपमा अगाडि सारिएको पौडेलले बताए।
कोरिडोरको शिलान्यास गर्दै मन्त्री पौडेलले रुपन्देहीलाई आर्थिक, पर्यटन, सांस्कृतिक र वाणिज्यको केन्द्र बनाउने गरी योजना अगाडि बढाइने बताए। उनले रुपन्देहीलाई कुनै पनि क्षेत्रबाट पछाडि पर्न नदिने र त्यसको लागि बजेटको समेत अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
मन्त्री पौडेलले प्रदेशको राजधानी नहुँदैमा रुपन्देहीका कुनै पनि विकास आयोजनालाई ओझेलमा पर्न नदिने समेत बताए।
‘अहिले सञ्चालन भइरहेका र अगाडि सारिएका आयोजनाहरू सम्पन्न हुँदा रुपन्देही विकासमा सबैभन्दा अब्बल बन्ने छ र रुपन्देहीको महत्व अझै बढ्ने छ,’ पौडेलले भने। उनले निर्वाचनको बेला जनतासँग गरिएका प्रतिवद्धता र घोषणापत्र एकएक गरी कार्यान्वयन गर्दै अघि बढ्ने बताए।
अर्थमन्त्री पौडेलले अहिलेको सरकारले दिन गनेर कार्यकाल पूरा नगर्ने दाबीसमेत गरे। सरकारले एकपछि अर्को राष्ट्र र जनपक्षीय निर्णय गर्दै नतिजा र परिणाममुखी काम गरेर देखाउने बताए।
बुटवल बजारको बीच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारै किनार बन्ने कोरिडोरलाई आफूले ‘ड्रिम प्रोजेक्ट’को रुपमा लिएको अर्थमन्त्री पौडेलको भनाइ छ। यो करिडोरको निर्माणपछि भारतीय सीमासँग जोडिएको रुपन्देहीको मर्चवारलाई बुटवलसँग जोडिन सहज हुने विश्वास गरिएको छ।
तिनाउ नदीमा ३५ किलोमिटर र दानव नदीमा १५ किलोमिटर गरी दुवैतर्फ दुई लेनको सडक निर्माण हुने छ। त्यसको लागि पहिलो चरणमा तिनाउ नदीको साढे आठ र दानव नदीको साढे तीन किलोमिटरका लागि ठेक्का सम्झौता भइसकेको छ।
जसअनुसार तिनाउ कोरिडोरमा ५२ करोड ४६ लाख र दानव कोरिडोरमा १९ करोड ४२ लाख रुपैयाँमा किराँतेश्वर मैनाचुली अविसा जेभी र लामा-बानियाँ जेभीसँग गत असोजमा ठेक्का सम्झौता भएको हो।
किराँतेश्वर मैनाचुली अविसा जेभीले तिनाउतर्फको र लामा-बानियाँ जेभीले दानवतर्फको सडक निर्माण गर्नेछन्। ठेक्का सम्झौता अनुसार तिनाउतर्फको ३६ महिना र दानवतर्फको २७ महिनामा सडक निर्माण सक्नुपर्ने छ।
पहिलो चरणमा तिनाउतर्फको बुटवल नयाँ बसपार्क पछाडिदेखि तिलोत्तमाको मगरघाटसम्म र दानवतर्फ बेलवास झोलुंगे पुलदेखि नयाँ गाउँ पुलसम्म कोरिडोर निर्माण हुने सडक विभागले जनाएको छ।
दुवैतर्फ गरी ५० किलोमिटर सडक निर्माणका लागि ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने विभागले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुँदै आएको तिनाउ नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ।
हाल तिनाउको बहाव क्षेत्रसमेत अतिक्रमण गरी बस्ती बसाइएको छ। सडक निर्माणको क्रममा बहाव क्षेत्र छाडेर नदीको जगदेखि नै पर्खाल लगाइने भएकोले नदी कटान तथा अतिक्रमणको समस्या हट्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ।
नदीतर्फको तीन मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइने छ भने त्यसपछि मात्र १४ मिटरको दुई लेन सडक सडक हुने छ। त्यस्तै, बस्तीतर्फको सडक छेउमा फुटपाथ निर्माण गरिने छ।
प्रकाशित मिति : बुधबार, मंसिर १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्