नेकपाको विवाद अब स्थायी कमिटीमा, ओली सहभागी हुने/नहुने अनिश्चित

नेकपाको विवाद अब स्थायी कमिटीमा, ओली सहभागी हुने/नहुने अनिश्चित

काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवाद झनै पेचिलो बनेको छ ।

दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गर्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतबार पार्टी कार्यालय धुम्बराहीमा स्थायी कमिटी बैठक बोलाइएको छ ।

स्थायी कमिटी बैठकमा ओली उपस्थित हुने/नहुने अनिश्चित छ । शनिबारको बैठकमा ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो । तर सचिवालय बैठकमा सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्नुपर्ने अडान लिएका थिए। शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको छ ।

सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । तर यसमा नेता गौतमसहित प्रचण्ड- नेपाल समूहले अस्वीकार गरेको थियो ।

पार्टीको विवाद आइतबार बस्ने स्थायी कमिटी र बिहीबार सुरु हुने केन्द्रिय कमिटीबाट किनारा लगाउने प्रचण्ड-नेपाल समूहको तयारी छ । ओली अब बैठकबाट होइन, सहमतिबाट मात्र समस्या समाधान गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

उहाँले शनिबारको बैठकमा पनि स्थायी कमिटी बैठक तत्काल नबोलाउन आग्रह गर्नुभएको थियो । तर सचिवालयका बहुमत सदस्यले स्थायी कमिटी बैठक बोलाउने अडान लिएपछि आइतबार स्थायी कमिटी बैठक बस्ने निर्णय भएको हो ।

शनिबार सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष ओली र प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका थिए । उनीहरूबीच तीन हप्तादेखि छलफल हुन सकेको थिएन । तर लामो संवादहीनता तोड्दै दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएपछि विवाद केही मत्थर हुने विश्वास गरिएको थियो । तर शनिबारको सचिवालय बैठकमा कुनै सहमति भएन ।

शनिबारको सचिवालय बैठकमा ओलीले सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष पद नछोड्ने बताउनुभएको छ ।

महाधिवेशन नहुँदासम्म हरेक निर्णय सहमतिमै गर्नुपर्ने नियम विपरीत पार्टी एकताको स्प्रिट तोड्न लागेको भन्दै उहाँले आफूलाई महाधिवेशनअघि अध्यक्षबाट र चुनावअघि प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने चेतावनी पनि दिनुभएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij