JanataToday.com

Advertisment

SKIP THIS

तामनगर-सेमलारको पक्की पुल निर्माण तीव्र गतिमा

तामनगर-सेमलारको पक्की पुल निर्माण तीव्र गतिमा

बुटवल-विगतमा कजवेको भरमा चलेको रुपन्देहीको तामनगर-सेमलार जोड्ने दानव नदीमा पक्की पुल निर्माण कार्यले तीव्र्र गति लिएको छ । विगतमा स्थानीयस्तरमा उत्पन्न केही समस्याका कारण ढिलाइ भएकोे पुल निर्माण कार्यले गति लिएपछि स्थानीय खुशी भएका छन् । जताततै विकास निर्माणका काममा ढिलाइ भएको तथा ठेकेदार र कर्मचारीले लापरवाही गरेको समाचार आइरहेका बेला निर्धारित समयमै सक्ने लक्ष्यका साथ कार्यप्रगति भइरहेकोमा स्थानीयले प्रशंसा गरेका छन् ।

कुल १७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको १ सय २० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुल निर्माणका लागि अर्घाखाँची बाबुल निर्माण कम्पनीले ०७४ असार महिनामा ठेक्का सम्झौता गरेको थियो । सम्झौता बमोजिम आगामी ०७७ चैत्र मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने यो पुलको ८० प्रतिशत भौतिक प्रगति रहेको सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनियर कृष्ण बहादुर कुँवरको भनाइ छ । कोरोना कहर र लकडाउनकै बीच पनि योजनाले राम्रो गति लिएको र निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको पनि कुँवरले बताए ।

निर्माणको सुरुवातमा डाईभर्सन, रिभर ग्याभियन लगाउने लगाएतका व्यवस्थापन र नदी नियन्त्रण सम्बन्धी काममा ढिलाइ हुँदा पुल निर्माणको काम समयै सम्पन्न हुनेमा शंका उत्पन्न भएको थियो । भएको कजवे भत्काएर नयाँ पुल निर्माण गर्ने योजना आएको तर कामले गति नलिएको भन्दै स्थानीले पटकपटक ताकेता र गुनासो गर्दै आएका थिए । अहिले समयमै कामले गति लिएकोमा स्थानीय अगुवा प्रेम प्रसाद पौडेलले खुशी व्यक्त गरेका छन् । ‘बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगर र वडा नम्बर १४ सेमलारको बीचमा पक्की पुल निर्माण हुन लागेको थाहा पाउँदा हामी निकै हर्षित भएका थियौं,’ पौडेलले भने ।

साविकको बुटवल नगरपालिका र सेमलार गाविसबीचको ठुलो भुभागको महत्वपूर्ण सम्पर्क माध्यमका रुपमा रहेको सो पुल समयमै निर्माण हुने सम्भावना बढ्दै गएको छ । यसले साविकको सेमलार, फर्साटिकर, मानपकडी, मानमटेरिया, अमुवा र दयानगर छपियाका जनतालाई सिधै पुर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्ने र प्रदेशको अस्थायी राजधानी बुटवलसँग सिधा र सहज सम्पर्क कायम गर्ने पौडेलको भनाई छ ।

आर्थिक वर्ष ०७३/०७४ मा टेण्डर भइ ०७४/०७५मा निर्माण सुरु भएको सो पुलको हाल पाँच वटा पिल्लर र ३ वटा स्पान निर्माणको काम सम्पन्न भइसकेको छ । अव एक स्पानको निर्माणको काम मात्र बाँकी रहेको जानकारी दिँदै सडक डिभिजनका सुचना अधिकारी समेत रहेका कुँवरले निर्धारित समयमै पुल निर्माणको कार्यसम्पन्न भइ सुचारु हुने दावी समेत गरेका छन् ।

विगतमा उक्त स्थानमा कजवेको व्यवस्था गरिएको भए पनि वर्षायाममा बाढी आउँदा आवागमन अवरुद्ध हुने गर्दथ्यो,वर्षामा बाढीका कारण धेरै धनजनको क्षति हुने गरेकोले पुरानो कजवे भत्काएर नयाँ पक्की पुल निर्माण गर्न थालिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

विगत लामो समयदेखि कजवेको भरमा जोखिमपूर्ण आवतजावत गर्दै आएका सो क्षेत्रका ४० हजार घरधुरीका झण्डै २ लाख जनताले सहज आवतजावतको सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको स्थानीय व्यवसायी बेधानीधी रिजालले बताए । रिजाल भन्छन्– ‘यो पुलको निर्माणले यस क्षेत्रका लाखौं जनताले प्रत्यक्ष लाभान्वित हुनेछन । यहाँका कृषि उत्पादन बजारसम्म पुर्याउन र बजारबाट आवश्यक सामाग्री गाँउसम्म पुर्याउन यो पुल जीवनमार्ग नै बन्नेछ । पुल निर्माणपछि यहाँको शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा पनि उल्लेखनीय विकास हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij