बुटवल । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सत्ता र शक्तिको गुनगान सांचो अर्थमा साहित्य हुन नसक्ने बताएका छन् ।
उनले साहित्यकारहरु स्थायी प्रतिपक्षी भएर सत्ता र शक्तिलाई सधैं खबरदारी गरिरहनुपर्ने बताए । न्यू होराइजन साहित्य परिषदले प्रकाशन गरेको हाम्रो न्यू होराइजन पुस्तकको सोमबार विमोचन गर्दै मन्त्री बरालले राज्य सत्ता बेलाबेलामा अन्धो हुने र गल्ती कमजोरी गर्ने हुंदा साहित्यकारले रचनात्मक आलोचनामार्फत आंखा देखाइदिनुपर्ने बताए ।
‘सत्ता र शक्तिको वरिपरि घुमेर गुनगान गरेर लेखिन्छ भने त्यो साहित्य नै होइन, त्यस्तो लेखाईले साहित्यको मर्म र आत्मा मारेको हुन्छ’—मन्त्री बरालले भने— ‘साहित्यकारको धर्म शक्तिहीन र अधिकारविहीनको पक्षमा बोल्ने हो ।’
उनले सामाजिक सञ्जालको बढ्दो प्रयोग, अरुको नक्कल गरेर चर्चामा आउन खोज्ने कस्मेटिक सोंच र चिन्तनले साहित्यमा साधना हराउंदै गएकोतर्फ गम्भीर बन्न समेत साहित्यकारहरुलाई सुझाव दिए ।
मन्त्री बरालले साहित्य र बिजनेस (ब्यापार) लाई संगसंगै नलैजान समेत आग्रह गरे । उनले विषयविज्ञलाई नै कार्यक्रममा प्रमुख अतिथि बनाउने अभ्यास गर्न सुझाव दिंदै साहित्यको विषयसंग सम्बन्धित कार्यक्रममा बोलाएर आफूलाई बकुल्लो बनाइएको गुनासो गरे ।
न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता,न्यू होराइजन साहित्य परिषदका अध्यक्ष हरिप्रसाद पौडेलको सञ्चालन र परिषदको सल्लाहकार एवं उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागतमा कार्यक्रम सम्मन्न भएको थियो ।
सो अवसरमा साहित्यकारहरु रामचन्द्र भट्टराई, देवेन्द्र घिमिरे,ऋषिराम भुसाल लगायतले विमोचित पुस्तकबारे समीक्षा र टिप्पणी गरेका थिए ।
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्