काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएका बेला उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । हालसम्म तटस्थ देखिएका गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको हुन् ।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार ललितपुरको धोबीघाटस्थित एक कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा गरिँदैछ । पार्टी एकता रक्षाका लागि नेतृत्वलाई दवाव दिने उद्देश्यले अभियान घोषणा गर्न लागिएको सुवेदीले बताए । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो दिइएको छ । तर, ओली र प्रचण्ड आउने-नआउने निश्चित छैन ।
पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको गौतमको सचिवालयले तर्क गरेको छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गर्न लागिएको हो । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम-प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको छ ।
गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को समूहको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।
प्रकाशित मिति : बुधबार, माघ १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्