काठमाण्डौ – प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमवार (आज) पनि सरकारी वकिलहरूले बहस गरिरहेका छन् । एक हप्तादेखि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको विपक्षमा अर्थात् प्रधानमन्त्रीको कदमको पक्षमा सरकारी वकिलहरूले बहस गरिरहेका हुन् ।
सोमवारको बहसमा सरकारको पक्षबाट सुरुमा अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गर्नुभयो । सरकारी निर्णयको प्रतिरक्षा गर्दै अधिवक्ता भट्टराईले लामो समय लिएर बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहस टुङ्ग्याउन आग्रह गर्नुभएको थियो ।
सुरुमा १५ मिनेट समय तोके पनि उहाँले ३१ मिनेट समय लिनुभएको थियो । भट्टराईपछि बहसमा जानुभएका अधिवक्ता महेश नेपाल र सीपी रेग्मीको समयमा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कडाइ गर्नुभएको छ ।
प्रधानन्यायाधीशले आइतवार (हिजो) नै प्रधानमन्त्रीको पक्षबाट बहस गर्ने वकिलहरूलाई १५ मिनेटभित्र बहस सक्न आग्रह गर्नुभएको थियो । बहसमा सरकारी वलिकहरूले प्रतिनिधि सभा विघटन संविधानअनुसार नै भएको दाबी गर्दै आएका छन् ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको खारेज र पुनर्स्थापनाकाे माग राखेर सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।
प्रकाशित मिति : सोमबार, माघ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्