बुटवल । तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लालाई यस क्षेत्रको एउटा धरोहरका रुपमा विकास गर्न लागिएको छ ।
बुटवल उपमहानगरपालिकाले यहाँको विशेष गुरुयोजना बनाएर त्यो काम अगाडि बढाइरहेको छ । उपमहानगरपालिकाले यहाँ नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राख्ने भएको छ ।
नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्न थालिएको हो ।
अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ । सोही शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा फरफराईने छ । दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
यो कामको शुक्रबारै शिलन्यास भएको छ । नगर प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्दै जितगढी राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको बताए। उनले यहाँको संरक्षण र सम्बद्र्धनका काममा स्थानीय समुदायको सहयोगको खाँचो रहेको पनि औंल्याए ।

शालिक र राष्ट्रिय झण्डाको टावर निर्माण कम्पनी हेभेन कन्स्ट्रक्सन प्रालिसंग उपमहानगरले ठेक्का सम्झौता समेत गरिसकेको छ ।
दुबै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । शालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५.७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकालले जानकारी दिए।
बेसमेन्ट माथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ । शालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इट्टा जस्तै देखिने गरी इट्टाको आवरण झल्किने गरी बनाइने छ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईको बेसमेन्ट कंक्रिटबाट बन्नेछ ।
जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख वजेट छट्टाएर काम थालेको र यसपटक एक करोड वजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको प्रमुख सुवेदीले बताए ।
जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १)लाई प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको प्रमुख सुवेदीले बताए ।
उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने उपमहानगरको विश्वास छ ।
वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो ।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेकोमा उजिरसिंहको पूर्ण कदको शालिक र नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएपछि अब जितगढीले मुहार फेर्ने आशा जागेको स्थानीयवासी अगुवा रविन्द्रगोपाल लाकौलको भनाइ छ ।
वडा नंं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठले किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरुलाई उचित मुआब्जा दिएर हटाइने बताए । जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसंग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना छ ।
जितगढीको विकासका लागि प्रदेश सरकारले एक करोड ५० लाख र संघीय सरकारले ५० लाख वजेट विनियोजन गरेका छन् ।
शिलन्यास समारोहका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, प्रवक्ता रामप्रसाद रेग्मी, कार्यपालिका सदस्यहरु रमेश नेपाल, टंकप्रसाद पराजुली, कमलप्रताप थापा, सीता थापा आचार्यलगायत स्थानीय नागरिकहरुको सहभागिता थियो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्