बुटवल । बुटवल उप–महानगरपालिकाले मुलुकमै पहिलो पटक बृहत शैक्षिक संगोष्ठी गर्ने भएको छ ।
देशभरका शिक्षा विज्ञ तथा यस क्षेत्रका सरोकारवालाहरुलाई बुटवलमा जुटाएर गर्न लागिएको संगोष्ठी मुलुकमै पहिलो प्रयास हो ।
अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र कार्यान्वयन गर्ने तीनै तहका सरकारहरुमा खाका प्रस्तुत गर्ने गरी बुटवलमा यस्तो संगोष्ठी हुने छ ।
यस्को तयारीका लागि समिति गठन गर्दै तीन महिनाको समय दिइएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
सीपमूलक विषयसहितको अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने र जनशक्ति उत्पादन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा खाका तयार पार्न यस्तो शैक्षिक संगोष्ठीको तयारी भइरहेको प्रमुख सुवेदीले बताए ।
स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरका पाठ्यक्रममा मौलिकताको शिक्षा जोड्ने र कक्षा ९–१२ को सीपमूलक विषयलाई समेत कसरी परिमार्जन गर्ने भन्ने विषयमा उपमहानगरले एउटा खाका तयार पारेर प्रस्तुत गर्ने छ ।
उपमहानगरपालिकाले नगर शिक्षा योजना निर्माण गर्ने देखि मावि तहको सीपमूलक विषय, स्थानीय तहको पाठ्यक्रम बनाउन विज्ञहरुको समिति पनि गठन भइसकेको प्रमुख सुवेदीको भनाइ छ ।
आगामी शैक्षिक शत्र अगावै यो संगोष्ठी हुने छ ।
‘शिक्षक, प्रध्यापक, इञ्जिनियर, डाक्टर, वैज्ञानिक, प्राविधिक, कलाकार, प्रशासक, कृषकलगायतका शैक्षिक जनशक्ति उत्पादन गर्ने भरपर्दो आधार शिक्षा नै हो’ प्रमुख सुवेदीले भने–विज्ञान, खोज, अनुसन्धान साथै प्राप्त भएका वस्तुको उपयोग, प्रशोधन र व्यावसायीकरणका बाटा र पाटालाई शिक्षाले सम्बोधन गर्नुपर्ने छ ।’
यस्का लागि विज्ञहरुको समिति गठन भइसकेको छ । शिक्षा विद् रामलाल श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा विज्ञहरु आनन्दमान सिंह शाक्य, रामकृष्ण पछाइँ, तारा पाण्डे, घनश्याम पाठक तथा प्रेमबहादुर बस्नेत रहेका छन् ।
कार्यदलका सदस्य सचिव तथा शिक्षा महाशाखा प्रमुख उपसचिव लोकराज पन्थीले समितिहरुले काम सुरु गरिसकेको जानकारी दिए ।
जनताको जीवनस्तर र राष्ट्रको सबैस्तर उठाउन सीपशक्ति युक्त जनशक्तिको निर्माण गर्ने उद्देश्यले शैक्षिक संगोष्ठी गर्न लागिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
देशभक्ति भएको सीपसहितको जनशक्ति नै आजको आवश्यककता रहेको उपप्रमुख आचार्यले बताइन् ।
नगर शिक्षा योजना निर्माण कार्यदल, स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी उपसमिति, सीपसंग सम्बन्धी कार्यपत्र निर्माण उपसमितिहरुसमेत गठन भइसकेको शिक्षा महाशाखा उपसचिव पन्थीले जानकारी दिए।
यी समितिहरुले तीन महिना भित्रमा सबै काम सक्ने छन् । सीपयुक्त र दक्ष शक्तिको जगबाट नै बुटवलको समृद्धि हुने सबैको ठहर रहेकोले शैक्षिक संगोष्ठी प्रभावकारी हुने बुटवलका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलको भनाइ छ ।
नगर शिक्षा योजना बनाउन कार्यदल
बुटवल उपमहानगरपालिकाले नगर शिक्षा योजना बनाउनका लागि कार्यदल गठन गरेको छ ।
विज्ञ छवि नेपालको संयोजकत्वमा गठन भएको समितिमा डबल वीसी, कृष्ण मल्ल, हेमबहादुर क्षेत्री, कुलराज शर्मा र गोविन्द ज्ञवाली रहेको शिक्षा महाशाखा प्रमुख पन्थीले बताए ।
यो उपसमितिले कान्ति माविमा रहेको स्रोतकेन्द्रको भवनमा कार्यालयसमेत स्थापना गरेर काम सुरु गरिसकेको छ । सामुदायिक र संस्थागत दुबै विद्यालयलाई यो समितिमा समेटिएको छ ।
स्थानीय पाठ्यक्रम निर्माणका लागि अर्को कार्यदल
यसैगरी बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यदल बनेको छ ।
उक्त समितिमा बुद्धिसागर भट्टराई, राजेन्द्रकुमार आचार्य, टिकाराम न्यौपाने, धनिश्वर गौतम, रुद्रलाल उपाध्याय र मोतिराज पौडेल रहेका छन् ।
नगरभर एउटै पोशाकको तयारी
बुटवल उपमहानगरपालिकाले नगरपालिकाभरमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुमा एउटै पोशाक बनाउने तयारी गरेको छ ।
शैक्षिक स्तरको न्यूनतम मापदण्डसमेत तोकेर सबै विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुको पोशाक एकै खालको बनाउने गरी तयारी गरिएको प्रमुख सुवेदीले बताए ।
बुटवल उपमहानगरपालिकामा सामुदायिक विद्यायलको संख्या ३८ रहेको छ । यहाँ बालविकास केन्द्र, सामुदायिक सिकाई केन्द्र, मदरसा, गुरुकुलसमेत सञ्चालित छन् ।
यस्तै विभिन्न तहका कक्षाहरु सञ्चालन गर्ने संस्थागत विद्यालयको संख्या ५८ रहेको छ । सामुदायिक र संस्थागत विद्यालयहरुमा सिकाई केन्द्रदेखि कक्षा १२ सम्मका कुल विद्यार्थीको संख्या ५७ हजार पाँच सय सात रहेको छ ।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्