गुल्मी-गुल्मीका केहि स्थानहरुमा लगाइएको मकै वालीमा फौजी किराको प्रकोप देखिएको छ। इस्मा गाउपालिका-६,चौरासीका कृष्ण प्रसाद घिमिरेले करिव १८ रोपनिमा लगाएको अरुण-२ जातको बसन्ते मकै तथा चन्द्रकोट, मालिका, मदाने, रुरुक्षेत्र लगाएतका गुल्मीका अन्य स्थानिय तहरुमा बर्षे मकैमा पनि फौजि किरा देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, गुल्मीका प्रमुख नारायण काफ्लेले बताउनुभयो। साथै समयमै यसको पहिचान गरि उचित व्यवस्थापन गरेको खण्डमा सम्भावित क्षति कम गर्न सकिने पनि बताउनुभयो। मकैमा लाग्ने फौजि किराको वयस्क पुतली ध्वासे रङ्गको र पूर्णरुपले बढेका लार्भाहरु गाढा हरियोमा अलि पहेलो रङ्ग मिसिएको जस्ता हुने यस किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको टाउको कालो रगंको हुर्कदै जादा लार्भाको शरिर साधारणतया खैरो रंगको हुन्छ भने टाउको गाढा खैरोको र लार्भाको टाउकोमा उल्टो अङग्रेजी अक्षर Y आकारको सेतो धर्का र अन्तिम तिर आठौ भागमा चारवटा ठुला ठुला धब्बा बर्गाकार रुपमा हुन्छन। यस किराले मकैको पातमा बाहिरी सतह कोत्रेर खान्छ जसले गर्दा पातमा झिल्लीदार झ्याल जस्ता आकृतिहरु देखा पर्दछन। यस किराले मकैको घोगा, पात, जु‘गा र गुभोमा क्षति गर्दछ। किराले आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो किराको दिसा भेटिन्छ। यस किराको अत्याधिक आक्रमण भएको अवस्थामा मकैका बोटहरु असिनाबाट क्षति भएको जस्तो देखिने परियोजना कार्यान्वयन इकाइका कृषि प्राविधिक कुसुम पन्थीले बताउनुभयो। साथै यसको ब्यवस्थापनका लागि मकै उम्रे देखी नै नियमित खेतबारीको अनुगमन अवलोकन गर्ने, मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने, घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने, बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने, मकैको एकल बाली लगाउनु भन्दा कोशेबालीको अन्तरबाली वा मिश्रित बालीका रुपमा लगउने, इमिडाक्लोरोपिड ४५%FS नामक बिषादी ४ ग्राम प्रति के जि बीउका दरले बीउ उपचार गरी मकै लगाउने तथा इमामेक्टिन बेन्जोयट ५%EC बिषादि 0.५ ग्राम प्रति लिटर पानीका दरले वा क्लोरान्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस.जी. ०.४ मिलिलिटर प्रति लिटर पानीका दरले वा स्पाइनोस्याड ४५ प्रतिशत एस.सी.०.३ मिलिलिटर प्रति लिटर पानीका दरले वा नीमजन्य बिषादी एजाडिराक्टिन १५०० पिपिएम प्रतिशत मिलि लिटर प्रति लिटर पानीमा मिसाएर छरेर यसको ब्यबस्थापन गर्नका साथै एउटै बिषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्न सल्लाह दिनुभयो। त्यस्तै, सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाई किराको प्रकोप सहन सक्ने पार्ने, डेस्मोडियम घाँस यस किरालाई मन नपर्ने हुनाले मकैको बीच बीचमा यो घाँस लगाएर धपाउने र छेउछेउमा यस कीरालाई मनपर्ने नेपियर घाँस लगाएर आकर्षित गरी यसको ब्यबस्थापन गर्न सकिने बताउनुभयो। प्राविधिक सेवा तथा सल्लाहका लागि लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई तम्घास गुल्मीको कार्यालयमा वा ०७९५२०८६७, ०७९५२१०९० नम्बरमा वा नजिकको पालिकाको कृषि शाखामा सम्पर्क गर्न पनि परियो कार्यान्वयन इकाइका प्रमुख काफ्लेले अनुरोध गर्नु भयो।
प्रतिक्रिया दिनुहोस्