बेझाड । रामपुर नगरपालिका–५ राङभाङ बस्ने टिकीसरा गौतमले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल छन् ।
आजभन्दा २३ वर्षअघि देखि गौतमले व्यावसायिक रुपमा तरकारी खेती थालनी गरेका हुन् । उनले अहिलेसम्म पनि यो व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । करीब चार रोपनी क्षेत्रफलमा तरकारी लगाएर वार्षिक रु पाँच लाख बराबरको आम्दानी गर्छन् ।
“तरकारी खेतीबाट नै घर, छोराछोरीको पढाइ खर्च राम्रैसँग चलेको छ, दिनहुँ तरकारी बेच्यो हातमा दाम परिहाल्छ,” गौतमले भने । उनको दैनिकी तरकारी लगाउने, गोडमेल र बिक्री गर्ने कार्यमा बित्छ । यहाँ उत्पादित तरकारी रामपुरको बेझाड बजारमा बिक्री हुन्छ । “व्यापारी घरमै पनि आउँछन्, तरकारी टिप्न शुरु भएको छैन, तरकारी बोटमै हुँदा पहिले नै पैसा बुझाएर जान्छन्,” उनले भने ।
तरकारी खेतीबाटै गौतमको पाँच जना परिवारको गुजारा राम्रोसँग चलेको छ । गौतमले बाह्रै महीना मौसमी तथा बेमौसमी जातका तरकारी लगाउने गरेका छन् । सिँचाइका लागि गौतमले इनारबाट पानीको व्यवस्था मिलाउनुभएको छ । गौतम यस क्षेत्रमै व्यावसायिक रुपमा तरकारी खेती गर्ने पहिलो कृषक हुन् अहिले भने गाउँघरमा उहाँको व्यवसायको धेरैले सिको गर्दै तरकारी खेती गर्न थालेका छन् । रासस
प्रकाशित मिति : बिहिबार, पुष १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्