बुटवल । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी प्रदेश सामुहिक लगानी र प्रतिवद्धताले मात्रै मुलुक संवृद्ध बन्न सक्ने बताएका छन् ।
शनिबार बुटवलमा सम्पन्न भिजन लुम्बिनी लिमिटेडको तेस्रो साधारण सभा तथा सेती नदी जलविद्युत आयोजनाबारे बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ससानो पुजी संकलन र उपयोगका लागि समेत सामुहिक लगानीको अभ्यास आवश्यक रहेको बताए ।
मन्त्री गिरीले धेरै जनाको सीप, ज्ञान र रकमले ठूला आयोजनामा समेत हात हाल्न र सफलता पाउन सकिने भएकाले त्यसमा प्रदेश सरकारले समेत सहयोग गर्ने बताए ।
उर्जा देशको सबैभन्दा आवश्यक र लगानीको अवसर भएको बताउदै उनले त्यसमा बुटवलवासी पनि संलग्न हुनु खुसीको कुरा रहेको टिप्पणी गरे ।
उर्जा विज्ञ गणेश प्रसाद श्रेष्ठले उर्जा र त्यसको लगानीको अवसरबारे बताए । सामुहिक लगानीबाट जलविद्युत निर्माण गरिदा धनी व्यक्ति मात्रै होइन सर्वसाधारण व्यक्तिले समेत मुनाफा कमाउन सक्ने उनले बताए ।
अर्का उर्जा विज्ञ आइपी तिवारीले सेतीखोला जलविद्युत कम लगानीमा बन्ने र धेरै फाइदा दिने भाग्यमानी परियोजना भएको बताए।
यस्तोमा सामुहिक लगानी हुँदा एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्य हुने उनले बताए ।
कार्यक्रममा उर्जा विज्ञ श्याम भुसालले जलविद्युतको अवस्था र भावी सम्भावनाबारे प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माछापुछ्रे गाउँपालिका प्रमुख कर्ण गुरुङ, भिजन लुम्बिनीका सल्लाहकार दिलीप भट्टराई, पूर्व प्रशासक रुद्रनाथ बस्याल, बालकृष्ण पन्थी लगायतले शुभकामना दिएका थिए ।
यसअघि संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारण सभामा आर्थिक प्रतिवेदन लेखा समिति संयोजक मीनप्रसाद ज्ञवालीले प्रस्तुत गरे ।
बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न भिजन लुम्बिनीमा करिब एक हजार सदस्य छन् । भिजन लुम्बिनीले एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण गर्दै छ ।
करीब पाच अर्ब रुपैया लागतको सो आयोजनाको झण्डै २ महिना अघि नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत् खरीद सम्झौता भएको छ । आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरी भन्ने स्थानमा आयोजना निर्माण हुनेछ ।
अध्यक्ष पोखरेलले लामो समयदेखि बगीरहेको सेतीलाई आर्थिक विकास र समृद्धिको लक्ष्य पहिल्याउने गरी आयोजना निर्माण शुरु गरेको बताए।
छरिएर रहेको सानो सानो पुजीलाई एकिकृत गरी सामुहिक लगानीबाट रोजगारी बढाउन भिजन लुम्बिनीको स्थापना भएको हो ।
कृषि, स्वास्थ्य विज्ञान, शैक्षिक, अर्थ वित्त, पर्यटन विकास, व्यापार व्यवसाय, जलविद्युत तथा उर्जा, सञ्चार, अध्ययन अनुसन्धान तथा जनसम्पर्क लगायतका ९ वटा विषयमा काम गर्ने यसको लक्ष्य रहेको अध्यक्ष पोखरेलले बताए ।
प्रकाशित मिति : शनिबार, पुष २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्