पाल्पा (रामपुर) । रामपुर नगरपालिका ४ पाल्पामा महिला समुहले दुना टपरी उद्योग सञ्चालनमा ल्याएको छ ।
जङ्गलमा पाईने सालको पातको सदुपयोग संगै महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले चेतनामूलक आमा समूह रामपुर ४ काँसजरीले उद्योग सञ्चालनमा ल्याएको हो ।
उद्योग सञ्चालनमा आए संगै गाउँका महिलाहरुले फुर्सदको समय आयआर्जनमा सदुपयोग गर्दै आएका छन् । फुर्सदमा टिभी हेरेर गफ गरेर समय विताउँदै आएका महिलाहरु अहिले उद्योगमा व्यस्त हुन थालेका छन् ।
उनीहरु भन्छन्, ‘पहिले काम गर्दाको समय बाहेक अरु बेला टिभी हेरेर मात्रै दिन कसरी विताउने हुन्थ्यो । अहिले फुर्सदको समय सदुपयोग भएको छ ।’ काँसजरीकी सीता मल्लले अहिले भन्छिन्, ‘घाँस, दाउरा र गोठालो जाँदा पात टिपेर ल्याउँछौ ।
फुर्सदको समयमा दुना र टपरीका लागि लाफा तयार गर्ने, सुकाउने र उद्योगमा लैजान्छौ । अर्डर बढी भएको बेला उद्योगमा सघाउँछौं । दुईचार रुपैयाँ आफै कमाउान सक्ने भएका छौं ।’
अर्की महिला सञ्जु मल्लले पनि उद्योग खुले पछि समय विताउन सहज भएको बताईन् । उनले भनिन् ‘घरको काम सकाएर फुर्सदमा दुनाटपरीका लागि सालको लाफा बनाई समूहलाई बिक्री गर्न पाएका छौं ।’
समुहले ३ महिना देखि माग अनुसारको टपरी उत्पादन गर्दै आएको छ । चेतनामूलक आमा समूहले तीन लाख ५० हजारको लागतमा दुई वटा मेसिन ल्याई उत्पादन सुरु गरेको हो ।
साथै महिला समुहले रामपुर नगरपालिकाको २ लाख आर्थिक सहयोग र अन्य समुहको लगानी गरी ५ लाख रुपैयाँको लागतमा उद्योगका लागि भवन निर्माण गरेका छन् ।
आमा समूहका पूर्वअध्यक्ष एवं रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सीमादेवी रानाले वन संग नजिकै रहेकाले महिलाहरुलाई आम्दानीको गतिलो माध्यम बन्न सक्ने सम्भावना देखेर उद्योग सुरु गरेको बताईन् ।
उनले रामपुर क्षेत्रको बढ्दो शहरीकरण संगै सुन्दर प्लाष्टिकमुक्त नगर निर्माणमा सहयोग गर्ने लक्ष्यका साथ उद्योगलाई अघि बढाईएको जानकारी दिईन् ।
आमा समूहले उद्योग सञ्चालनका लागि एक जना कर्मचारी समेत राखेका छन् ।
अर्डर बढी भएको बेला समुहका सदस्यहरुले पनि पालैपालो आफैँ उपकरण चलाएर दुनाटपरी उत्पादन गर्दै आएको समुहकी अध्यक्ष शोभाकुमारी खड्काले बताईन् ।
गाउँघरमा हुने शुभकार्य, विवाह, व्रतबन्ध लगायतका कार्यमा दुनाटपरीको माग आउन थालेको खड्काले बताईन् ।
उद्योग बाट उत्पादित सय वटा टपरी रु २५० तथा १ सय २० वटा दुना सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
कच्चा पदार्थको रुपमा रहेको ठूलो लाफा एक रुपैयाँ र सानो लाफ पचास पैसाको दरले खरिद गर्दै आएको छ ।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्