डेङ्गी सङ्क्रमण बढेसँगै बजारमा सिटामाेल अभाव !

डेङ्गी सङ्क्रमण बढेसँगै बजारमा सिटामाेल अभाव !

काठमाण्डौ – नेपालमा डेङ्गी ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ ।

औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने बिरामीले पाइरहेका छैनन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खान मन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन् । ती लक्षणका लागि बिरामीले सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।

काठमाण्डौ उपत्यकालगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गीका बिरामी बढिरहेका छन् । अहिलेसम्म ६ हजार जनाभन्दा बढी डेङ्गीका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ  । डेङ्गीको प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले पनि सिटामोलको अभाव भएको बताइएको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. श्रवणकुमार मण्डलले डेङ्गीका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानुपर्छ भन्नुभयो । धेरै नै ज्वरोका बिरामी बढेकाले सिटामोलका माग बढेर अभाव भएको हुनसक्ने उहाँको भनाइ छ ।

नेपाल औषधि व्यवस्था विभागका निर्देशक भरत भट्टराईले सिटामोल पाइएन भन्ने गुनासो सुनेको बताउनुभयो । ‘डेङ्गी बढेसँगै एक÷दुई दिनअघि मात्र जनताले सिटामोल पाइएन भन्ने सुनेको छु’, उहाँले भन्नुभयो, ‘सिटामोलको अवस्था के हो भन्नका लागि औषधि उत्पादक सङ्घलाई आइतवार बोलाएर छलफल गर्ने छु ।’ उहाँले सङ्कटको बेला औषधिको मूल्य बढाउनका लागि अभाव सिर्जना गर्न थालिएको हुनसक्ने बताउनुभयो ।

उहाँले महामारीको बेला सिटामोल जस्तो औषधिको अभाव हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले औषधि उत्पादक सङ्घलाई बोलाएर तत्काल सिटामोल उत्पादन गर्न निर्देशन दिने बताउनुभयो ।

५० लाख सिटामोल उत्पादन गर्दै

नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताउनुभयो । उहाँका अनुसार हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार झन्डै ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको छ ।

अहिले पनि औषधि लिमिटेडसँग झन्डै १५ लाख ट्याबलेट मौज्दात रहेको उहाँको भनाइ छ । सङ्घका उपाध्यक्ष सन्तोष बरालले बजारमा सुनेको जस्तो सिटामोलको अभाव नभएको बताउनुभयो । ‘मैले पनि बजारमा अभाव छ भन्ने सुनेको छु तर त्यस्तो सारै अभाव छैन । हामीले उत्पादन गर्दै आइरहेका छौँ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार नेपालमा वार्षिक १० करोड ट्याबलेट सिटामोलको माग रहेको छ । सङ्घले भने वार्षिक पाँचदेखि साढे पाँच करोड ट्याबलेट उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij