रुपन्देही : बुद्धजन्मस्थल लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’(बौद्ध अन्तर्राष्ट्रिय भ्रमण मेला) शुरु भएको छ ।
मार्टको आज लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद्र अधिकारीले उद्घाटन गरे । लुम्बिनीमा उद्घाटन गरिएपनि मार्टको मुख्य कार्यक्रम टाइगर प्यालेस रिसोर्टमा चलिरहेको छ।
भैरहवाको गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएपछि लुम्बिनी आउने पर्यटकको सङ्ख्या धेरै हुने र आगामी असोज महीनासम्म अन्तर्राष्ट्रिय उडान शुरु हुने बताए ।
उनले भने, “सन् २०२० मा २० लाख पर्यटकक लुम्बिनी आउँछन् ।” कार्यक्रममा प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुद्धसँग जोडिएका कपिलवस्तु, देवदह, रामग्राम लगायतका स्थानलाई जोडेर विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । उनले पर्यटन प्रवद्र्धनकै लागि आगामी वर्ष लुम्बिनी भ्रमण वर्षको तयारी गरिएको जानकारी दिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लामो समयमसम्म पनि लुम्बिनीको गुरुयोजना पूरा नभएपछि ग्लोबल बोलपत्र आह्वान गरिएको बताए । उनले अबका दिनमा गुरुयोजना अनुसारका काम अगाडि बढ्ने बताए । पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि पर्यटन मन्त्रालयले प्राथमिकता दिएको बताए ।
भारतीय पर्यटन व्यवसायी आशिष गुप्ताले विदेशी पर्यटकको आकर्षक गन्तव्य लुम्बिनी भएकाले नेपाल भारतको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्न सकिने बताए । “भारतको नालन्दा, कुशीनगर, बोधगया आउने पर्यटकलाई लुम्बिनी आउने वातावरण तयार गर्नुपर्छ”, उनले भने, “बुद्धको जन्मस्थल भएकाले पर्यटक लुम्बिनी आउन चाहन्छन् ।”
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यमा लुम्बिनीलाई थप आकर्षक बनाउन सकिने धारणा राखे । पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको मेला तीन दिनसम्म चल्ने छ । मेलामा १७ देशका पर्यटन व्यवसायी सहभागी छन् ।

तस्वीर सौजन्य : रणधिर यादव
मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायत पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवद्र्धन हुने नाट्टाले विश्वास लिएको छ । मेलामा ‘बिजनेश टु बिजनेश मिटिङ’, बुद्ध पर्यटन प्रवद्र्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुने नाट्टाले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्