बुटवल-प्रदेश ५ को महत्वाकांक्षी कार्यक्रममध्येको एक स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ को बुद्धनगरस्थित लोकनाथ खरालको खेतमा फर्सीको बिरुवा रोपेर मुख्यमन्त्री शंकर पोखरेलले कार्यक्रम शुरु भएको घोषणा गरे।
मन्त्रिपरिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधि बनाएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका बाँकी ५१ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम शुरु गर्दैछ। यो कार्यक्रमबाट सरकारले कृषिमा उत्पादकत्व वृद्धि गरेर प्रदेशलाई कृषि उपज आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
स्मार्ट कृषि गाउँमा ५० लाख रुपैयाँ विनियोजन गरेर किसान समूह, सहकारीमार्फत कार्यक्रम लागू हुनेछ। कार्यविधिअनुसार सरकारले दिएको ५० लाखलाई ८० प्रतिशत रकम मानेर अरु २० प्रतिशत रकम स्थानीय सरकार, सहकारी, किसान समूहले लगानी गर्ने छन्।
चालु आर्थिक वर्षमा सरकारले यो कार्यक्रमका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ। स्मार्ट कृषि गाउँमा किसानहरुले गर्ने खेती प्रणालीदेखि लिएर कृषि उपज उत्पादन, बजारीकरण सम्मको कार्य पूरा गर्ने प्रदेश ५ कृषि मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले जानकारी दिए।
कार्यक्रममा उल्लेख भएको स्मार्ट शब्दले दिगोपना, बजारमुखी, अनुकुलन, उत्तरदायी र नवीनतम प्रविधिलाई संकेत गर्छ। स्मार्ट कृषि गाउँमा किसानलाई सहयोग गर्न मल, बीउबिजन, संकलन र बजारीकरण गर्न सहकारी मार्फत काम गर्ने उनले बताए।
कार्यक्रमअनुसार जलवायु स्मार्ट, सिंचाई स्मार्ट, पोषकतत्व स्मार्ट, प्रविधि स्मार्ट, बजार स्मार्ट भनेर सम्भाग छुट्टाइएको छ।‘स्मार्ट कृषि गाउँ कार्यक्रमले किसानले कस्तो जमीनमा कुन खेती गर्दा लाभ हुन्छ भन्ने देखि उत्पादकत्व वृद्धि गर्दै निर्वाहमुखी खेतीबाट व्यवसायिक खेतीप्रणाली अपनाउनका लागि हामीले किसानलाई सहयोग गर्छौं–भूमि, व्यवस्था तथा कृषि, सहकारी मन्त्री आरती पौडेलले भनिन्।
उनका अनुसार प्रदेश ५ का ५२ वटै निर्वाचन क्षेत्रमा गाउँ छनोटको काम सकिएको छ । ‘ती गाउँको विस्तृत प्रतिवेदन बनाएर कुन कुन क्षेत्रमा के कार्यक्रम लागू गर्ने भन्ने पनि अन्तिम चरणमा पुगेको छ–उनले भनिन्–हामीले किसानको आयस्तरमा वृद्धि गर्नका लागि माटोको उर्वराशक्तिदेखि उत्पादन, बजारीकरणसम्म सहकार्य गर्नेछौं।’
मन्त्रालयले प्राविधिक हिसाबले नेपाल कृषि तथा वन विश्वविद्यालयसँग सहकार्य गर्ने छ। ‘अहिलेको अवस्थाबाट कृषिको उत्पादकत्वलाई दोब्बर बनाउनका लागि हामीले कृषिमा स्मार्ट प्रविधिको प्रयोग गर्नुपर्छ-विश्वविद्यालयका डीन प्रा. जयप्रकाश दत्त भन्छन्–माटोको उत्पादन क्षमता पहिचान गर्ने, जलवायु, प्रविधि र बजारको व्यवस्थापन गर्न सक्ने हो भने हामी दक्षिण एशियाली स्तरमा पुग्न सक्ने अवस्था छ, यसका लागि हामीले मन्त्रालयसँग सहकार्य गर्दैछौं।’
मन्त्री पौडेलका अनुसार स्मार्ट कृषि गाउमा नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को टिम पनि परिचालन हुने छ। यस्तै कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोसमुहले सामाजिक परिचालनदेखि किसानको खेतबारीको अवस्थाको अध्ययनका बारेमा प्रारम्भिक विश्लेषण गर्ने छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा भन्छन्–‘हामीले यो कार्यक्रमलाई सकेसम्म किसानमैत्री बनाउँदै किसानले लाभ लिने बनाउनेछौं, अहिले जसरी बिचौलियाले बढी लाभ लिइरहेको अवस्था छ त्यो अवस्थाको अन्त्य हुनेछ।’
कार्यक्रमले कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाउने र किसानलाई प्रतिस्पर्धात्मक बनाउँदै दिगो रुपमा आयस्तर वृद्धि गर्ने उदेश्य राखेको छ।
बाँझो र खाली रहेका जग्गाको उपयोग, कृषि जैविक विविधताको संरक्षण र प्रवद्र्धन गर्ने, खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने, कृषिमा रोजगारीका अवसर सिर्जना गर्दै महिला र युवालाई उद्यमशील बनाउनेजस्ता ४ वटा उद्देश्य लिएको सचिव देवकोटाले बताए। यो कार्यक्रम तरकारी, कुखुरापालन, पशुपालन, माछापालन र बालीजन्य उत्पादनका लागि सञ्चालन हुनेछ।
मुख्यमन्त्री भन्छन्–उत्पादन लागत घटाएर आम्दानी बढाउनुपर्छ
कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषिमा उत्पादन लागत घटाएर किसानको आम्दानी बढाउनका लागि स्मार्ट कृषि गाउँ कार्यक्रम प्रभावकारी हुने बताए।
मुख्यमन्त्रीले पराम्परागत प्रणालीलाई आधुनिक बनाउन नसक्दा नयाँ पुस्तालाई कृषिमा जोड्न नसकिएकोले कृषिलाई आधुनिक बनाएर नयाँ पुस्तालाई जोडिने बताए। उनले स्मार्ट कृषि कार्यक्रमले किसानको घरदैलोमा प्रविधि लिएर आएको र किसानले व्यवहारमा सिकेको अनुभवलाई पनि आत्मसात गरी कार्यक्रम अघि बढाइने उल्लेख गरे।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिको व्यवसायीकरणमा स्मार्ट कृषि गाउँ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
प्रदेशसभा सदस्य जाल्पा भुसाल, डा. कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, प्राध्यापक डा. आइपी कडेरिया, किसान समूहकी लक्ष्मी बिकलगायतले स्मार्ट कृषि कार्यक्रमलाई नमूना बनाएर प्रविधिलाई हस्तान्तरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति : बुधबार, माघ २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्