काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव बुधबार बेलुकादेखि नै देखिएकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ पानी परेको मौसमविद वरुण पौडेलले बताएका छन् ।
बिहीबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यमस्तरको पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले जानकारी दिए ।
यस्तै पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा बिहीबार ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम स्तरको हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमका केही उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
केही दिन मौसम यस्तै
मौसमविद पौडेलका अनुसार यसपटक पश्चिमी वायुसँगै आएको मौसमी प्रणाली बलियो देखिएकाले केही दिन मौसम बदलीकै अवस्थामा रहने देखिन्छ ।
वायुमा जलवाष्पको मात्रा बढी रहेका ले बिहीबार र शुक्रबार मध्य र पश्चिमका क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्ष अर्थात ५० मिलिलिटर भन्दा बढी वर्षा हुने देखिएको छ ।
पश्चिमका क्षेत्रमा बुधबार रातिदेखि नै पानी परेको छ । वायु बिस्तारै मध्य हुँदै पूर्वी क्षेत्रमा सर्दै गएकाले बिहीबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका मध्य क्षेत्रमा पनि बदली तथा वर्षा भएको हो ।
मौसमी प्रणालीको प्रभाव दिउँसोसम्ममा पूर्वमा पनि पूर्णरुपमा पुग्ने र बेलुकातिर पूर्वका पहाडी तथा तराईका क्षेत्रमा पनि पानी पर्ने मौसमविद पौडेलले बताए । यो वर्षको हिउँदमा चौथो पटक पश्चिमी वायुका कारण मौसमी प्रणाली भित्रिएको हो ।
यसपटकको प्रणाली प्रभावकारी रहेकाले शनिबारदेखि पश्चिमबाट मौसम खुल्दै जाने भएकाले पूर्ण रुपमा मौसम खुल्नका लागि आइतबारसम्म नै पर्खिनु पर्ने उनले बताए । यस्तै चिसो बढ्ने भएकाले काठमाडौँ उपत्यका आसपासका उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना छ ।
प्रकाशित मिति : बिहिबार, माघ २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्