काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ ।
आइतवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउन नहुने बताउनुभयो । केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीले कस्तो किसिमको क्रियाशील सदस्यता दिँदैछौँ ? क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित हुँदैन । राम्रो मान्छे चुनेर मात्रै गरौँ । कांग्रेसको केन्द्रीय समितिले पनि अब विकेन्द्रीकरण गर्नुपर्याे । सबैभन्दा महत्त्वपूर्ण जिल्ला सभापतिहरूभन्दा पनि वडाध्यक्षहरू हुन् । हामी केन्द्रमा बसेर फलानोलाई टिकट दिनुपर्याे भन्छाैँ । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो ? कसले समाजमा प्रतिष्ठा बोकेको छ ? कसले एउटा दिशा दिनसक्छ ? केन्द्रमा बसेर निर्णय गर्ने कुरा ठिक भएन ।’
नेता कोइरालाले पार्टीले आउँदाे २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताउनुभयो । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उहाँले सत्तामा जानेमात्र नभई रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, साउन ७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्