जनकपुरधाम : प्रदेश २ को सरकारले निकै प्राथमिकतामा राखेको अभियानमध्ये एक हो मुख्यमन्त्री स्वच्छता अभियान । मुख्यमन्त्री लालबाबु राउतले माघ १४ गते गृहजिल्ला पर्साको वीरगञ्जमा तामझामका साथ महासरसफाई गरि स्वच्छता अभियानको सुरुवात गरे ।
अभियानलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षमा प्रदेश सरकारले २५ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । तर, अभियान सञ्चालक मन्त्रालयहरु नै फोहोरको थुप्रोमा बसेका छन् ।
प्रदेश २ को मिनी सिंहदरबार जनकपुर चुरोट कारखाना लिमिटेड परिसर भित्रका विभिन्न मन्त्रालयमा स्वच्छता अभियानको सामान्य प्रभाव पनि देखिँदैन । मन्त्रालयको प्रवेशद्वारबाट भित्र छिर्दा जथाभावी पानीका खाली बोत्तल, प्लाष्टिकका झोलासहितका फोहोर फालिएको भेटिन्छ ।
मन्त्रालयका भवनहरु बाहिर प्लाष्टिकजन्य र अन्य फोहोरका स-साना थुप्रो जताततै भेटिन्छ । प्रदेशका चार मुख्य मन्त्रालयहरु उद्योग, पर्यटन वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय सञ्चालित भवनको पछाडि फोहोरको डंगुर नै छ ।
चुरोट कारखानाको निकै पुरानो चारतल्ले भवनमा माथिदेखि तल्लो तल्लासम्म सञ्चालित छुट्टा छुट्टै मन्त्रालयमा आठजना मन्त्री र राज्यमन्त्री लगायत प्रदेशका उच्च ओहदाका कर्मचारी बस्दै आएका छन् । तर उनीहरु सरसफाईप्रति सचेत रहेको देखिएको छैन ।
मन्त्रालयहरुबाट निस्किने फोहोरजन्य वस्तु जथाभावी भवन पछाडि मिल्काउने गरिएको छ । मन्त्रालय सञ्चालित भवन अगाडी फोहोर फाल्ने डस्टबिन वा फोहोर व्यवथापनका लागि अन्य कुनै विकल्प नराखिएकाले काम विशेषले आउने सर्वसाधारणले पनि जथाभावी फोहोर फाल्ने गरेका छन् ।
स्वच्छता अभियानमा निकै तामझाम र प्रचारबाजी गर्ने सरकारले आफ्नै मन्त्रालयसमेत सफा गर्न सकेको छैन । जथाभावी फालिएका फोहोरले मन्त्रालयहरुको वातावरण नै दुषित बनाएको छ ।
मन्त्रालयहरुमा सफाई अभियान सञ्चालित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव शान्ता नेपाल मरासेनीको दाबी छ । उनी भन्छिन्, ‘मन्त्रालय सफा गर्न कर्मचारी र मन्त्री सदैव सक्रिय छन्, हामी छिट्टै गार्डेनिङ्ग गर्ने तयारीमा पनि छौं ।’
मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को प्रस्तावनामै प्रदेश २ मा सार्वजनिकस्थल, सरकारी कार्यालय, धार्मिक स्थलहरु, पोखरी, इनार लगायत विद्यालय तथा निजी घरहरुमा समेत सफाई र स्वच्छताको स्तर कमजोर रहेकाले अभियान घोषणा गरिएको उल्लेख छ ।
‘कुकुर पनि आफु बस्ने ठाउँ वरिपरी सफा गरेर बस्छ, तर यस कुरालाई यदि विवेकशील प्राणीले ध्यान दिएनन्, भने त्यो निकै लज्जास्पद हो’, रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका वातावरण विभाग प्रमुख प्राध्यापक डा. उदेश्वरलाल दास भन्छन्, ‘मानव स्वास्थ्यका लागिसमेत फोहोर सफाई निकै आवश्यक छ ।’ मन्त्रालयमा यसप्रकार फोहोरको डंगुर राख्दा यसले मन्त्री र कर्मचारीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्छ ।’
स्वच्छता अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरुको व्यवस्था गरिएको छ । जसमा सार्वजनिक संरचनाहरुको पुर्ननिर्माण तथा सुधार कार्यक्रमहरु, खानेपानी स्वच्छता कार्यक्रम, फोहोरमैला व्यवस्थापन कार्यक्रम, सार्वजनिक शौचालय निर्माण कार्यक्रम, विद्यालयमा छात्रा शौचालय निर्माण, स्वच्छता सम्बन्धी विद्यालय शिक्षा कार्यक्रमहरु रहेका छन् ।
निर्देशित कार्यक्रम अनुसार हाल प्रदेशका आठवटै जिल्लामा २० वटा सार्वजनिक शौचालय निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
त्यसैगरी मुख्यमन्त्री राउतको गृहजिल्ला पर्साको नगवा र मुरली पोखरी सौन्दर्यीकरणको काम अघि बढाइएको छ । यसै अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरणको कार्यक्रम पनि चलिरहेको छ ।
अन्नपुर्ण पाेष्टबाट
प्रकाशित मिति : सोमबार, माघ २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्