निर्माण नै सम्पन्न नभएका अस्पतालका लागि २ अर्बको उपकरण खरिद गर्दै स्वास्थ्य मन्त्रालय

निर्माण नै सम्पन्न नभएका अस्पतालका लागि २ अर्बको उपकरण खरिद गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं : निर्माण नै नसकिएका आधारभूत अस्पतालका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब रुपैयाँभन्दा बढीका स्वास्थ्य सामग्री खरीद प्रक्रिया अगाडि बढाएको छ ।

 

 

सरकारको महत्त्वाकांक्षी कार्यक्रम अनुसार दुई वर्षभित्र निर्माण पूरा गरी सेवा शुरु गर्ने भन्दै  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते एकै दिन सबै प्रदेशका स्थानीय तहमा ३९६ स्थानीय तह (आधारभूत) अस्पतालको शिलान्यास गरेका थिए। तर निर्धारित समय सकिइसक्दा हालसम्म एउटा पनि आधारभूत अस्पताल निर्माण सम्पन्न भएर हस्तान्तरण भएको छैन। मन्त्रालयका अनुसार हालसम्म १४ वटा अस्पतालले मात्र निर्माण चरणको चौथो (अन्तिम) किस्ता पाएका छन्। यसरी हेर्दा यो वर्ष १४ वटा अस्पताल मात्रै निर्माण सम्पन्न हुने निश्चित देखिएको छ।

तर यस्तो अवस्थामा मन्त्रालयले स्थानीय तहका बनिरहेका तर निर्माण सम्पन्न नभएका आधारभूत अस्पताल सञ्चालन गर्न र अन्य अस्पतालको सेवा विस्तारका लागि भन्दै स्वास्थ्य सामग्री खरिद योजना स्वास्थ्य सेवा विभागले पास गरेर सोमबार टेण्डर आह्वान गरेको छ।

तर अचम्मको कुरा के छ भने निर्माण भइरहेका आधारभूत  अस्पतालको लागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दीबारेमा हालसम्म मन्त्रालयमा कुनै छलफल समेत भएको छैन। अझै आर्थिक वर्ष २०८०/८१ को बजेटले पनि स्थानीय तहका अस्पतालको स्वास्थ्यकर्मीको दरबन्दीबारे केही बोलेको छैन भने आगामी आर्थिक वर्षमा लोकसेवामार्फत कुनै पनि कर्मचारीको दरबन्दी नखुलाउने समेत सरकारले बजेटमा उल्लेख गरिसकेको छ। जसले गर्दा निर्माण सम्पन्न भए पनि यो आर्थिक अवस्थामा स्थानीय तह अस्पताल सञ्चालन हुने अवस्था देखिएको छैन।

हुन त आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ३२२ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालका लागि आठ अर्ब बजेट विनियोजन गरेको छ भने यो वर्ष निर्माण सम्पन्न हुने १०० अस्पतालको व्यवस्थापन तथा उपकरण खरिदका लागि भन्दै ८२ करोड विनियोजन गरेको थियो। सोही अनुसार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा मार्फत निर्माण सम्पन्न नभएका आधारभूत अस्पतालका लागि भन्दै स्वास्थ्य उपकरण किन्ने प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ।

निर्माण सम्पन्न भए पनि स्वास्थ्यकर्मीको दरबन्दीको कुनै अत्तोपत्तो नभएको यस्तो अवस्थामा मन्त्रालयले एकै पटक ठूलो मात्रामा स्वास्थ्य उपकरण खरिद गर्न लागेको हो। कोभिड महामारी पछि एकै पटक ठूलो मात्रामा मन्त्रालयले पहिलो पटक स्वास्थ्य उपकरण खरिद प्रक्रिया अघि बढाएको देखिन्छ।

विश्व बैंकले दिएको २ अर्ब ४२ करोडमध्ये पहिलो लटमा ११ करोड ७१ लाखको खरिद गर्न लागिएको व्यवस्थापन महाशाखाले जनाएको छ। खरिद सूचीमा ६० देखि ७० प्रकारका स्वास्थ्य सामग्री छन्, जसमा वेड, मोनिटर, प्रयोगशाला सामाग्री, एक्स रे, इसिजीलगायत सामग्री रहेका छन्। आधारभूत अस्पतालका लागि एक हजार जनरल बेड, एक्सरे, प्रयोगशालका सामग्री, इसिजी मेसिन लगायतका आइटम खरिद गर्न लागिएको हो।

यता खरिद गर्न लागिएका कतिपय उपकरण भने नियमित खरिद गर्नु पर्ने उपकरण रहेको र केही उपकरण भने निर्माणधीन आधारभूत अस्पतालकै लागि रहेको बताउँछन्, व्यस्थापन महाशाखा प्रमख डा. सर्वेश शर्मा। ‘ केही उपकरण नियमित खरिद गर्नु पर्ने भएकोले प्रक्रिया अगाडि बढाइएको हो किन भने अहिले पनि हामीसँग धेरै अस्पताल तथा स्वास्थ्य संस्थाले उपकरणको माग गरिरहेका छन्। केही उपकरण हाल बन्दै गरेका आधारभूत अस्पतालका लागि भनेर  खरिद गर्न लागिएको हो’ डा शर्माले भने।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्नेतको ठाडो निर्देशनमा यो खरिद अघि बढेको हो। ‘पहिलो कुरा त अस्पताल बनिसकेका छैन। अर्कोतर्फ आधारतभूत अस्पतालको लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दीको टुंगो छैन’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यस्तो अवस्थामा अहिले खरिद गर्ने समय र आवश्यकता हैन। बरु सकिन्छ भने स्वास्थ्यकर्मीको दरबन्दीको व्यस्थापन गर्न मन्त्रीले भूमिका खेल्नुपर्ने समय हो अहिले।’

मन्त्री भएलगत्तै सार्वजनिक रूपमा नै आवश्यकताका आधारमा मात्रै मेडिकल उपकरणको खरिद गर्ने बताएका मन्त्री बस्नेतले एकाएक किन आधारतभूत अस्पतालको पूर्वाधार र जनशक्ति तयारी नहुँदै यति ठूलो खरिद प्रक्रिया अगाडि भन्ने विषयमा स्वास्थ्य मन्त्रीको सचिवालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क भएन।

 

प्रकाशित मिति : मंगलबार, भाद्र १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij