लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मंगलबार सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) गरिएको हो ।
त्रिपिटक पाठको मंगलबार निवर्तमान शिक्षामन्त्री अशोक राईले एक समारोहका विच समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान शिक्षामन्त्री राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको संगालो त्रिपिटक पाठले विश्वभर सकरात्मक सन्देश प्रवाह गरेको बताए । गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको उनले बताए । उनले विश्वमा देखिएको अशान्ति र अहिंसालाई सहि मार्गमा ल्याउने बुद्धको शिक्षाहरु पवित्रस्थल लुम्बिनीमा वाचन गरिने कुरा आफैमा स्मरणीय रहेको बताए ।
यस्तै उक्त अवसरमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्रा खु्र धमेशभनले आजको आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताए । उनले महासंघले तेस्रो पटक लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गर्न सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा तीन दिने त्रिपिटक पाठले यहाँको व्यवसायलाई समेत चलायमान बनाएको र बुद्ध शिक्षालाई विश्वव्यापी बनाउने काम गरेको बताए । यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियकरण गराउनका लागि त्रिपिटक पाठले महत्वपूर्ण योगदान दिएको बताए ।
समापन समारोहमा थाइल्याण्डका बौद्धधर्म गुरु सोमदेज फ्रा महामुनीयोङको लिखित शूभकामना सन्देश वाचन गरी सुनाइएको थियो । साथै उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको महासंघका महासचिव भिक्षु निग्रोधले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्