काठमाण्डौ – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले राजनीतिक इमान गुमाएको आरोप लगाउनुभएको हो ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारको काम प्रभावकारी भएन, सङ्क्रमणकालीन न्यायले टुङ्गो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने हो ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको विधेयक कांग्रेसका कारण नरोकिएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सङ्क्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि तपाईँले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भनेपछि नेपाली कांग्रेसप्रति न्याय गर्नुभयो ? विश्वास, इमान गर्नुभयो ? र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गर्नुभयो । यसका बारेमा कांग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो ? इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन । त्यसकारण बेइमानी शब्दप्रति तपाईँहरुको ध्यान गम्भीर भएको छ, तर इमानको कुरा त कांग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो ।’
प्रमुख सचेतक लेखकले १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उहाँले यही अनुपातमा ५ वर्षमा १३ पटक सत्ता गठबन्धन फेरिने बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिबद्धताहरुमाथि कुठाराघात गरेको आरोप लगाउनु भयो ।
उहाँले केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले यता र उताको कुरा गरेर गठबन्धन तोडेको कारण देखाउनु लज्जाजनक भएको बताउनु भयो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्