उत्कृष्ट भयो भैरहवाको भीम अस्पताल

उत्कृष्ट भयो भैरहवाको भीम अस्पताल

भैरहवा- भैरहवाको भीम अस्पतालमा न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गतको मूल्यांकनमा उत्कृष्ट भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक वर्ष न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम संचालन गर्छ । मूल्यांकनका लागि ९ सय ३९ वटा सुचक तयार गरिएको थियो । जसमा भीम अस्पतालले ९४ प्रतिशत अंक प्राप्त गरेर आफ्नो सेवा तथा व्यवस्थापनलाई उत्कृष्टमा उभ्याउन सफल भएको हो ।

यसले अस्पतालले बिरामीलाई प्रदान गर्ने गरेको उपचार सेवा र अस्पताल संचालनको व्यवस्थापन उत्कृष्ट रहेको देखाएको सरोकारवालाहरुको भनाई छ । बिगत केही बर्षदेखि भीम अस्पतालले आफ्ना सेवालाई प्रभावकारी र सुधार गर्दै प्रदेश निर्देशनालयको यो मूल्यांकनमा बर्षेनि प्राप्तांक अंक बढाएको छ।

दुई दिने स्थलगत अनुगमन सहितको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको सोमवार सार्वजनिक गरिएको छ । कार्यक्रममा अनुगमन समितिका संयोजक डा.जगन्नाथ तिवारीले सिमित जनशक्ति र बिरामीको चाप निरन्तर बढ्दै गए पनि भीम अस्पतालको सेवा तथा व्यवस्थापन निकै प्रशंसनीय देखिएको उल्लेख गरे ।

भीम अस्पतालाई बिरामीको चापको आधारमा १ सय बेडको स्वीकृत दरबन्दी अनुरुपको जनशक्तिको आवश्यकता रहेको उनले औंल्याए । समितिले गरेको मूल्यांकनमा भीम अस्पतालमा सिटी स्क्यान, एनआईसीयू, नेत्रसेवा, छालारोग र नाका, कान, घाँटी सेवा न्युनतम सेवा मापदण्डले गरेको परिकल्पना भन्दा पनि माथि रहेर बिशेषज्ञ सेवा उपलब्ध गराएको छ।

‘ओपीडी विभागतर्फ अधिकांश सेवा बिशेषज्ञसहित उपलब्ध रहेको पाइयो’, डा.तिवारीले भने, ‘इमर्जेन्सी सेवातर्फ पनि २४ सै घण्टा एकजना एमडिजीपी चिकित्सकसहित मेडिकल अधिकृतको सेवा उपलब्ध हुने गरेको पाइयो । जिल्ला अस्प्तालमा यो निकै सकारात्मक पक्ष हो ।’

लैंगिक हिंसामा परेका पीडितका लागि अस्पतालमा प्रदान गरिने एकद्वार संकट व्यवस्थापन केन्द्र, बिरामीका लागि कुरुवा घर, अप्रेसन थिएटर, ल्याव, ब्लडबैंक, पिउने पानीको परीक्षण, फोहोर व्यवस्थापन, स्वास्थ्य जाँचका लागि कुन बिरामीलाई कुन चिकित्सकसँग पठाउने ? भन्ने वारे स्क्रिनिङ कक्ष, फिजियो थेरापी, प्रकोप व्यवस्थापन सबै व्यवस्थित रहेको अनुगमन तथा मूल्यांकन समितिले पाएको छ ।

जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पताल सेकेण्डरी ए लेवलको अस्पताल हो । गत बर्ष यो अस्पतालले यस खालको मूल्यांकनमा ९० प्रतिशत अंक प्राप्त गरेको थियो । अघिल्लो बर्ष ८८ प्रतिशत अंक प्राप्त गरेको थियो । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले उपचारका लागि अस्पतालमा आउने बिरामी सबैलाई सकेसम्म बिशेषज्ञ सेवा उपलब्ध गराउन प्रयासरत रहेको जनाउँदै सीमित साधनस्रोतको साथ पनि अस्पतालको सेवा प्रभावकारी रहेको बताइन् ।

‘यस पटक अस्पतालमा अर्थोपेडिक सेवा पनि आरम्भ गरेका छौं’, उनले भनिन्, ‘यो मूल्यांकनबाट अस्पतालमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै भावी योजना तथा कार्यक्रम बनाउने छौं।’

प्रकाशित मिति : सोमबार, माघ २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij