फागुन महिनाभरी नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ अभियान सुरु

फागुन महिनाभरी नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ अभियान सुरु

काठमाडौँ, स्वास्थ्य मन्त्री प्रदिप पौडेलले नसर्ने रोगहरूसँगको लडाइँमा निरोधात्मक विधिहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि निःशुल्क स्क्रिनिङ अभियान सुरु गरेको बताएका छन्। उनले सबैलाई यस अभियानलाई सफल बनाउन अपील पनि गरेका छन्।

बिहीबार एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको तीन चौथाई हिस्सा नसर्ने रोगबाट हुने बताउँदै, जलवायु परिवर्तन र बढ्दो शहरीकरणका कारण यसमा थप जटिलता आएको उल्लेख गरे।

यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागितासहित स्थानीय तहमा स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवाहरूलाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गर्दै, उनले रोगको दुष्चक्रबाट नागरिकलाई जोगाउन निरोधात्मक विधिमा आधारित योजनाहरू ल्याएको बताए।

“हामीले हाम्रा स्वास्थ्य संस्थाहरूमा सेवा र उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयास गरिरहेका छौं,” उनले भने, “साथै, निरोधात्मक विधि अन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण र सचेतनाका माध्यमबाट रोग लाग्न नदिन र यदि लागेको खण्डमा समयमै उपचार गरेर नागरिकको स्वास्थ्य र राज्यको धन बचाउने हाम्रो प्रयास जारी छ।”

मन्त्री पौडेलले यसैलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन्। यो अभियानमा नेपालमा बसोबास गर्ने ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग र शरीरको उचाइ तथा तौलको अनुपात जाँच गरी नसर्ने रोगहरूको रोकथाम र व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयले हरेक वर्ष यस अभियानलाई निरन्तरता दिने भएको छ। मन्त्री पौडेलले नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा सबैलाई सहयोग गर्न अपिल गरेका छन्।

देशभरका स्थानीय तहका स्वास्थ्य संस्थामा नसर्ने रोगहरूको निःशुल्क परीक्षणमार्फत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने र जटिलता देखिएमा उपचारका लागि प्रोत्साहन गर्ने उद्देश्यले थालिएको अभियानले स्वास्थ्य नीति निर्माणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij