राजनीतिक दल र उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो बन्दै : आयाेग

राजनीतिक दल र उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो बन्दै : आयाेग

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ ।

नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो ।

‘चुनाव महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरूको इमानदारितामाथिको प्रश्न हो । निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरूलाई मैले सोध्ने गरेको छु– तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नू’, उहाँले भन्नुभयो ।

चुनावका बेला प्रयोग हुने राज्य संयन्त्रको इमानदारितामाथि पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रश्न उठाउनुभयो । चुनावको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । चुनावमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

नागरिक सचेत भएमा मात्रै चुनाव सफल हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले उल्लेख गर्नुभयो । त्यस्तै आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाट मात्र नभई देशभित्र जुनसुकै ठाउँको मतदान केन्द्रबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाउन अति आवश्यक रहेको उहाँको भनाइ छ ।

‘निर्वाचनको प्रभावकारिता : निर्वाचन प्रक्रियामा आमनागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौं निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास–३’ पुस्तक विमोचन गरिएको छ ।

यस्तै दोलखा, स्याङ्जा, डडेल्धुरामा जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गरिएको छ । त्यस्तै हरेक प्रदेशबाट समान एक जना र आयोगका तीन जना गरी १० जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij