मौन पीडा : आत्महत्यामा किन फस्छ मानिस ?

मौन पीडा : आत्महत्यामा किन फस्छ मानिस ?

आत्महत्या रोकथाम विश्वभरी नै एउटा चुनौती

तिलोत्तमा- आत्महत्या रोकथाम विश्वभरी नै एउटा चुनौतीको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष करिब ८ लाख मानिसको मृत्यू आत्महत्याबाट हुने गरेको छ । रुपन्देही जिल्ला प्रहरी कार्यालयको तथ्यांकका आधारमा रुपन्देही जिल्लामा यस आर्थिक बर्षको नौ महिनामा मात्र आत्महत्याका १सय ६४ घटनाहरु भएका छन् । गत आर्थिक बर्षमा २ सय ५५ आत्महत्याका घटना भएकोमा यस आर्थिक बर्षको नौ महिनामा मात्र आत्महत्याका १सय ६४ घटनाहरु भएका रुपन्देही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक सुरज कार्कीले बताउनु भयो ।
रुपन्देही जिल्लामा एक महिनाको अबधिमा अर्थात फागुन महिनामा मात्रै  २७ वटा आत्महत्याका घटना भएका छन् । जसमध्ये झुण्डीएर २४ जना र विष सेवन गरेर ३ जनाले आत्महत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा सबै भन्दा बढि १९ बर्ष देखी २५ बर्ष उमेर समुहका रहेका रुपन्देहीका सुचना अधिकारी एवं डिएसपी सुरज कार्कीले बताए ।
के हो आत्महत्या ?
आत्महत्या आफुले आफैलाई मार्नु हो । परिस्थिति बस हुने एउटा घटना  आत्महत्या हो । मनोबैज्ञानिक इमाइल दुरखिमले समाजले व्यक्तिलाई आत्महत्या गर्न बाध्य पार्छ भनेका छन् । समाजले छुट्याएका वर्ग, वर्ण , धर्म, तथा जात जाति बिचको अन्तरद्धन्दले व्यक्ति आत्महत्या गर्न प्रेरित हुने उनको धारणा छ ।
व्यक्ति किन आत्महत्या गर्छ ? 
संसारका घातक रोग जस्तै व्यक्तिको मृत्युहुने कारणमा आत्महत्या पनि सातौं नं मा रहेको छ । बरिष्ठ मनोचिकित्सक बासु आचार्यका अनुसार मानसिक रोगले मानिस नमर्ने बताउनु हुन्छ । जसरी क्यान्सर , मुटु रोग , दम आदि जस्तो यो रोगले मानिस नमर्ने उहाँको धारणा छ । उहाँका अनुसार मानिसमा व्याप्त बेखुसी, इच्क्षाहिन, एक्लोपन ले मानिसलाई मार्ने गर्छ । अर्को एडजष्टमेन्ट डिसअडर्रका कारण पनि आत्महत्याका घटनामा बृद्धि भैरहेको छ । देशमा भएको बेरेजगारीका कारण , महिलाहरुको मेनोपोजको समयमा हुने बाइपोलर डिसअर्डरका कारण, गलत संगत , लागुपदार्थ दुरव्यसनी तथा सामाजिकिकरण हुन नसक्नुका कारण मुख्य रुपमा आत्महत्याका घटनाका कारणहरु हुन् । साथै एनजाइटी र डिप्रेशनका विरामीलाई परिवारले गर्ने खराब व्यवहारका कारण वा बेवास्ताका कारण पनि व्यक्ति आत्महत्या तर्फ उन्मुख हुने गरेको उहाँको धारणा छ ।
त्यस्तै राममणी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक तथा दिप वोर्डिगं हाई स्कुलका बोर्ड मेम्बर बसन्त जोशी सामाजिक अस्वस्थ प्रतिश्पर्धाका कारण व्यक्तिका महत्वाकांक्षाहरु बढि हुने तर त्यहाँ पुग्न नसक्ने कारण पनि यस्ता खालका घटनाहरु हुने गरेका बताउनुहुन्छ । पारिबारिक बेमेल पनि आत्महत्याको कारण बनेको  छ । परिवारको आकार घटेको तर पािछल्लो समय परिवारबाट समाजमा भिज्न नसकेका कारण मानिसमा एक्लोपन आउने , आफ्ना मनका भावनाहरु साटासाट गर्न हिच्किचाउने , सामाजिक संजालको दुरुपयोगका कारण पनि आत्म हत्याका घटनामा बृद्धि भएको बताउनु हुन्छ ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक हेर्दा गत आर्थिक बर्ष २०८० , ८१ मा २५ बर्ष मुनिका २६ जना, २५ देखि ३४ बर्ष सम्मका ८२ जना, ३५ देखी ४४ बर्ष सम्मका ५९ जना, ४५ बर्ष देखी ५४ बर्ष सम्मका ४२ जना , ५५ देखी ६० बर्ष सम्मका २९ जना तथा ६० बर्ष भन्दा माथिको उमेर समूहका १७ जना गरी  ले आत्महत्या गरेको तथ्यांकमा रहेको छ । त्यस्तै यस आर्थिक बष २०८१, ०८२ को चालु नौ महिनामा २५ बर्ष मुनिका ११ जना, २५ देखि ३४ बर्ष सम्मका ६१ जना, ३५ देखी ४४ बर्ष सम्मका ३७ जना, ४५ बर्ष देखी ५४ बर्ष सम्मका २९ जना , ५५ देखी ६० बर्ष सम्मका २१ जना तथा ६० बर्ष भन्दा माथिको उमेर समूहका ५ जनाले आत्महत्या गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीको एक अध्ययनले आत्महत्याबाट बढी प्रभावित हुनेमा विपन्न वर्ग र मध्ययम वर्ग ८५ प्रतिशत रहेको पाईएको छ ।
सामाजिक संजाल , घरायसी समस्या, गरीबी, मादकपदार्थ तथा लागुऔषध सेवनका कारण, पारिवारिक बेमेल, आत्महत्याको प्रमुख कारण अनुसन्धानका क्रममा देखिएको डीएसपी सुरज कार्कीले बताउनु भयो ।
लक्षणहरु कस्ता हुन्छन् ? 
अमेरिकी दार्शनिक सिग्मण्ड फ्रायडले जीवन मूल प्रवृति र मृत्यू मूल प्रवृति गरेर दुई भागमा व्याख्या गरेका छन् । यसैलाई आधार मानेर हेर्दा व्यक्ति जीवन जिउन चाहना राख्छ वा राख्दैन, जीवनलाई रमाइलो पनका साथ लिन्छ वा लिदैन अथवा जीवन बाँच्ने कला उसमा छ छैन भन्ने छुट्याउनु आवश्यक छ । उसमा खाली मृत्यू नै उत्तम लाग्नु,  साथिभाई संग आफना कुरा सार्वजनिक नगर्नु, सामाजिक संजालमा खाली सुसाइड वा आत्महत्या संग सम्बन्धित सामाग्रहरु मात्र खोज्ने वा हेर्ने , स साना कुरामा पनि बेचैन हुने , घरमा आर्थिक अभाव वा बावु आमाको दु ख मा निराश हुने , मलाई कसैले पनि माया गर्दैन म एक्लो छु भन्ने भान हुने तथा महिला भए पुरुष साथि संगै चाहिने उसलाई माया गरिरहनु पर्ने , पुरुष भए उसलाई नपाए मेरो जिवन नै व्यर्थ छ जस्तो भान पर्नु  सधैँ मौन हुने तर कुनै बेला अचानक औधि खुसी भएजस्तो देखाउने जस्ता लक्षणहरु देखिने मनोपरामर्श दाता आचार्यको भनाइ रहेको छ । आत्महत्या गर्ने ९० प्रतिशत व्यक्तिले केही न केही संकेत छाड्ने गरेको , तर संकेत परिवार वा अरुले बुझ्न नसक्दा समस्या भएको प्रहरीको अध्ययनले देखाउँछ । आत्महत्या योजना बनाउनेले असाधारण हाउभाउ देखाउने , निकै निराश हुने , दुखी कुरा गर्ने , संसार नै सकिएको जस्तो मान्ने अध्ययनले देखाएको छ । त्यस्तै गम्भिर प्रकृतिको रोग , दुर्घटना पनि कारक तत्वका रुपमा पाउन सकिन्छ ।
समाधानका उपायहरु के हुन सक्छन् ? 
सिगमण्ड फ्रायडले भने जस्तै मृत्यू मूल प्रवृति त्यागेर जीवनमूल प्रवृती अंगाल्नु आत्महत्याबाट छुटकारा पाउने मुख्य आधार हो । त्यस्तै दोश्रो जे कारणले मनमा आत्महत्याको भावना आएको छ त्यो केश सल्ट्याउनु पनि आत्महत्याको मनस्थितिबाट जोगिनु हो । आचार्यकै भाषामा भन्नु पर्दा भावनात्मक समाधान खोज्ने , भावनालाई आफ्नो बशमा ल्याउनु । संज्ञानात्मक व्यावहारपरक समाधान यसमा सोच , भावना र व्यावहार मा परिवर्तन ल्याउनु , र अर्को हो द्धन्दात्मक व्यावहारपरक चिकित्सा यसमा म जे छु ठीक छु , मलाई नस्वीकार्न पाइन्छ , म पनि उसलाई न स्वीकार्न सक्छु भन्ने धारणा व्यत्तिमा आउनु अपरिहार्य छ ।
एन्जाइटी वा डिप्रेशनमा भएका व्यक्तिका लागि साइको थेरापी, औषधि सेवन तथा पारिवारिक सद्भाव तेश्रो महत्वपूर्ण उपाय भएको मनो चिकित्सक आचार्यको भनाइ रहेको छ ।
    नेपाल कम्युनिष्ट पाटि माओवादी केन्द्रका तिलोत्तमा नगर अध्यक्ष बेल प्रसाद शर्मा युवा लक्षित आत्मनिर्भर गराउने भुमिका राजनैतिक दलका नेताले खेल्नु पर्ने बताउनु भयो । स्थानिय निकायमा भए गरेका कार्यक्रम भन्दा आगामी दिनमा युवामैत्री वातावरण सृजना गरेर युवालाई स्वरोजगारमा नजोड्ने हो भने आगामी दिनमा आत्महत्या जस्ता जघन्य घटना नरोकिने बताउनु भयो ।
आत्महत्या दुरुत्साहनका लागि कार्यक्रमहरु नभएका पनि होइनन् तर कार्यक्रम कार्यक्रम गर्नकै लागि मात्र भए कि भन्ने पनि मुख्य प्रश्न हुन आउछ । आत्महत्या न्युनीकरणका लागि प्रहरी कार्यालयले बिभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी नायब उपरिक्षक सुरज कार्कीले बताउनु भयो । उहाँले स्थानिय पालिकाहरुले निम्न आयस्तर भएका व्यक्तिहरुको आयस्तर बृद्धिका लागि पहल गरे आत्महत्या अझै न्यूनीकरण हुन सक्छ डीएसपी कार्कीले भन्नुभयो  ।
यसरी हेर्दा समाजमा भएका घटनाक्रमले के देखाउँछ भने समाजमा रहने हरेक व्यक्ति सामाजिक हुनु आबश्यक छ । सामाजिक संजालको नियमन , युवामैत्री समाज निर्माण ,पारिवारिक बेमेलका कारण पनि आत्महत्याका घटनाहरु बढी रहेको अबस्थामा अब परिवारमा नैतिक शिक्षाको खाँचो छ ।  धनले मात्र सुख पाइदैन धनलाई खुसीमा परिणत गर्ने व्यावहारिक शिक्षा आजको आबश्यकता हो । आत्महत्या समस्याको समाधान होइन, यसलाई मनमा आउन नदिनका लागि व्यत्ति समाजमा भिज्नु आबश्यक छ ।

प्रकाशित मिति : आइतबार, चैत्र १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij