नारायणी रजौरे / दाङ । दाङको बबई गाउँपालिका–५ मा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ ।
तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ ।
पैँतालीस उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ ।
झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ । त्यहीँबाट विस्तारै बबई नदीमा गई मिसिने गर्दछ । झरनाको अवलोकन गर्न आउने त्यहीँ पानी खस्ने ठाउँमा पौडी खेल्ने पनि गरेका छन् ।
अहिले सो झरनाको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक ३०० देखि ४०० सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको झरनाका कर्मचारी कुलबहादुर बुढाले बताए ।
उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइलको रु ३०, कार तथा जिपको रु २०० र बसको शुल्क २५० निर्धारण गरिएको छ ।
विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन, अहिले स्थानीय सरकार आएपछि बबई गाउँपालिकाले संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ एक कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्रा विकले बताईन् ।
उनले झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउन र बाँकी रकम झरनाको विकासमा खर्च गरिने बताए ।
झरनाको विकासका तथा त्यहाँ आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गराउन सके यसले अझै पर्यटकलाई आकर्षित गराउने र यहाँबाट आम्दानी बढाउन सकिने भन्दै गाउँपालिकाले अहिले विकास निर्माणका कामलाई प्राथमिकता दिइरहेको उपाध्यक्ष विकले बताए ।
झरना हेर्न कोहलपुरबाट आउनुभएका ४३ वर्षीया कालिका रेग्मीले पहिलोपटक यहाँ आउँदा निकै आनन्द आएको बताए । व्यापार पेशामा संलग्न रहेको बताउने उनले आफूले यति राम्रो झरना होला भनेर नसोचेको भन्दै यसलाई अझै व्यवस्थितरूरुपमा संरक्षण गर्न र वरपरको वातावरण सफा स्वच्छ राख्न सुझाव दिईन् ।
तुलसीपुर उपमहानगरपालिका–१२ पशुपति माध्यमिक विद्यालयबाट वनभोज खानका लागि विद्यार्थीसहित पुग्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीले विद्यार्थीको झरना अवलोकन गर्ने पहिलो रोजाइ भएकाले आफूहरु यहाँ आएको बताए । उनले झरना संरक्षण तथा संवद्र्धन गरी भौतिक पूवर्धार निर्माण गर्न सके पश्चिम दाङको मुहार नै फेरिने बताए ।
स्थानीय पत्रकार बालकृष्ण पाण्डेले झरना क्षेत्रको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताए । उनले विगतका वर्षमा नागरिकले गरेको अथक संरक्षण र राज्यका निकायले गरेको सहयोगले नै अहिले जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा पुरुन्धरा झरना परिचित रहेको बताए ।
गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले झरनाको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाइसकेको बताए ।
उनले चालू आर्थिक वर्षमा गाउँपालिकाले पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रु १५ लाख र प्रदेश नं ५ सरकारले रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले अहिले त्यहाँसम्म पुग्ने बाटोमा कल्भर्ट तथा ग्राभेलको काम शुरु भइरहेको पनि बताए । उनले अब छिट्टै झरनास्थलमा खानेपानी, शौचालय, चमेनागृह, बिजुली, वनभोजस्थलका लागि आवश्यक सेट निर्माणलगायतका भौतिक पूर्वाधार निर्माण गरिने पनि जानकारी दिए ।
तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट करीब आठ किमी दक्षिणपचिश्ममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की भए त्यहाँ बाह्रै महीना पर्यटक सजिलैसँग सवारी चढेर जान सक्ने थिए ।
यस झरनाको आफ्नै महत्व छ । यो एकान्त ठाउँमा छ । त्यहाँ वरपर कुनै बस्ती छैन ।
शताब्दीभन्दा पुरानो इतिहास बोकेको सो झरना क्षेत्रमा पहिले त्यहाँ घनघोर जङ्गल रहेको र त्यही जङ्गलको बीचमा सानो बाटो बनाएर मानिस गाईबस्तु लिएर जङ्गलमा जाने, घाँस दाउरा तथा खर काट्ने र त्यही गोठ बनाएर बस्ने गर्दथे ।
सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए ।
झरना करीब एकसय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिरमा जाने गर्दथे ।
सो मन्दिरमा पुजारी पनि बस्ने गर्दथे । ती पुजारी पनि गाईलाई पानी खुवाउन, घाँस काट्न त्यही जाने गर्दथे । सो मन्दिरमा त्यहाँ शिवरात्रिमा ठूलो मेला पनि लाग्दछ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्