काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीनिकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिइ २५ लाखभन्दा बढीलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन जरुरी रहेको बताए।
निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको र निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमाका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
उनले निर्माण व्यवसायीहरुले झेलिरहेका भुक्तानी, निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभावलगायत विषयमा आफ्नो ध्यानाकर्षण भएको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए।
व्यावसायिक प्रवर्द्धनका लागि निर्माण व्यवसायीहरु प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको उनले उल्लेख गरे। योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको जिकिर उनले गरे।
‘विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा, विश्व अर्थतन्त्रमा नै समस्या आइरहेको अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिई २५ लाखभन्दा बढीलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक छ‚’ सभापति देउवाले भने, ‘निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु नै आजको मुख्य समस्या हो। यसका लागि निर्माण व्यवसायीहरुको प्रयासमात्र पर्याप्त हुँदैन‚ सरकारले पनि प्राथमिकता दिनुपर्छ भन्ने मेरो भनाइ छ।’
सभापति देउवाले निर्माण व्यवसायीहरु विकासको संवाहक भएको बताए। अर्थतन्त्र गतिशील बनाउन आफ्नो–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्