काठमाण्डौ तीनकुनेमा राजावादी समूह र प्रहरीबीच झडप

काठमाण्डौ तीनकुनेमा राजावादी समूह र प्रहरीबीच झडप

काठमाण्डाै – काठमाण्डौमा आज दुई वटा छुट्टाछुट्टै प्रदर्शन भएको छ । राजावादी समूहले तीनकुनेमा र गणतन्त्रवादीले भृकुटीमण्डपमा प्रदर्शनसहित सभा गरेका छन् ।

तीनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । राजावादी समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र हवाई फायरसमेत प्रहार गरेपछि प्रदर्शन प्रभावित भएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएका छैनन् । तीनकुनेमा व्यक्तिका घरमा समेत प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाइदिएका छन् ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंसँग मिलेर प्रदर्शन गरेको हो ।

त्यस्तै भृकुटीमण्डपमा गणतन्त्रवादीको सभा भइरहेको छ । सभाअघि गणतन्त्रवादीले सुन्धाराबाट र्‍याली निकालेका थिए । र्‍यालीमा मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) का नेता/कार्यकर्ता सहभागी थिए । सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्रराय यादवले सम्बोधन गर्ने भएका छन् ।

आजको प्रदर्शनका कारण नागरिकले सास्ती पाएका छन् । काठमाण्डौमा सुरक्षा व्यवस्था कडा छ । प्रदर्शन र सभा भइरहेका क्षेत्र तीनकुने, बानेश्वर, माइतीघर, भृकुटीमण्डपलगायतका क्षेत्रमा गाडी चल्न सकेका छैनन् । अरू ठाउँमा भने अवस्था सामान्य नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij