अपडेट : बारामा हावाहुरीका कारण कम्तीमा २७ को मृत्यु, हताहत हुनेको संख्या अझै बढ्न सक्ने

अपडेट : बारामा हावाहुरीका कारण कम्तीमा २७ को मृत्यु, हताहत हुनेको संख्या अझै बढ्न सक्ने

बारा — असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा आइतबार राति कम्तीमा २७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

४०० जनाभन्दा बढी घाइते भएको उनीहरुको अनुमान छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

कलैया अस्पतालमा मात्रै मृतकको संख्या १६ पुगिसकेको छ। अन्य स्वास्थ्य संस्थाबाट पनि मृतकको संख्याबारे यकिन तथ्यांक निकाल्ने प्रयास भइरहेको सिडियोले बताएका छन्। कलैया अस्पतालमा उपचार हुन नसकेकाहरुलाई वीरगन्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा रिफर गरी पठाइएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जिल्लामा २७ जनाभन्दा बढीको मृत्यु भएको पुष्टि गरे। ‘स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी त्यहाँको साधनस्रोतले उद्धार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘मृतकको सनाखत हुन बाँकी छ।’

प्रहरी उपरिक्षक सानुराम भट्टराईले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिए। घाइतेहरुको कलैया र वीरगन्ज अस्पतालमा उपचारको लागि लगिएको उनले बताए। मानवीय उद्धारको लागि स्थानीय जनप्रतिनिधि, नजिकको प्रहरी र सर्वसाधारणहरु खटेका छन्।

घाइतेहरुको उद्धार गर्दै उपचारको लागि अस्पतालमा पुर्‍याउने काम भइरहेको प्रहरी उपरिक्षक भट्टराईले बताए। ‘सबैतिरबाट मानवीय र भौतिक क्षतिको संकलन भइरहेको छ,’ उनले भने, ‘मानवीय क्षति बढी भएको छ।’ फेटा गाउँपालिका, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दियालगायतको ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरबलीया, फेटाको वडा नम्बर ६ चैनपुर सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्।

प्रकाशित मिति : सोमबार, चैत्र १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij