बुटवल – असार १६ GPA ल्याएका एक–दुई विद्यार्थीको नाममा विद्यालयहरूमा बाजागाजासहित उत्सव मनाइएको दृश्यलाई लिएर नेपाली कांग्रेसका युवा नेता अर्जुन पौडेलले गहिरो प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो उत्सवको शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै यसले बाँकी फेल भएका विद्यार्थीहरूको आत्मबलमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्। पौडेल लेख्छन् – “यो निश्चय नै प्रशंसनीय उपलब्धि हो, सफलतालाई सम्मान गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ। तर के त्यो उत्सव मनाउँदा त्यही विद्यालयका ती दर्जनौँ फेल भएका विद्यार्थीहरूबारे सोच्न आवश्यक ठानिएन त? एउटै स्कुलका विद्यार्थीमध्ये कसैको हातमा अबिर छ, बाजा बज्दैछ, तर अर्को फेल भएको विद्यार्थी मनभित्रभित्रै रोइरहेको छ।” उनका अनुसार यस्ता एकपक्षीय उत्सवले शिक्षा प्रणालीभित्र गहिरो विभाजन देखाउँछ। उनी थप लेख्छन् – “शिक्षाले यही सिकाउँछ र हजुर? यदि त्यो उत्सव सबै विद्यार्थीलाई आत्मबल दिने गरी, समावेशी रूपमा मनाइएको भए, त्यो साँच्चिकै शिक्षाप्रद हुन्थ्यो।” अर्जुन पौडेलले फेल भएका विद्यार्थीहरूको असफलताका पछाडि हुने विभिन्न सामाजिक, आर्थिक र मानसिक पक्षहरूबारे गम्भीर प्रश्न उठाएका छन्। “के त्यो उनीहरूको कमजोरी मात्रै हो? पारिवारिक समस्या थियो कि? आर्थिक अवस्था थियो कि? सामाजिक वा मानसिक समस्या थियो कि?” – उनले प्रश्न गरे। पौडेलको भनाइमा शिक्षाको मूल उद्देश्य केवल उच्च अंक ल्याउनु होइन, बरु व्यक्तित्व निर्माण गर्नु हो। “GPA 4 ल्याउनु गर्वको कुरा हो, तर त्यो नै जिन्दगीको सबैभन्दा ठूलो जित हो भन्ने सोच कहिल्यै पनि शिक्षाको आधार हुन सक्दैन,” उनको भनाइ छ। उनले शिक्षा क्षेत्रमा कार्यरत सबै सरोकारवालाहरू — विद्यालय, शिक्षक, अभिभावक र समाज — लाई यस विषयमा गम्भीर सोच गर्न आग्रह गरेका छन्। “सफलताको उत्सव तब मात्रै सार्थक हुन्छ, जब त्यो सबैको भावनालाई ख्याल गर्दै मनाइन्छ। असफलहरुको पीडा भुलिनु भएन नि, हैन र?” – अर्जुन पौडेलले स्मरण गराएका छन्।
प्रकाशित मिति : सोमबार, असार १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्